भीडभाड नरोकिए पछि उपत्यकामा अनुगमन हुने, मास्क नलगाउनेलाई कारबाही

श्रावण १९,२०७८

-आस्था न्यूज

साउन १९,२०७८ काठमाडौं ।
कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाण्डौ उपत्यकामा अनुगमन हुने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ।
 
समितिले आजैदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार बढी भीडभाड  हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुनेछ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उहाँले बताउनुभयो ।
 
ुमास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्छौँ, तर फेरि अटेर गरेको पाइए कारबाही हुन्छ उहाँले भन्नुभयो । यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ ।
 
यस विषयमा आज बस्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । त्यसपछि भोलि बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ । काठमाण्डौ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ ।