दुवै डोज कोरोना खोप लगाउनेलाई इन्फेक्सन कम हुने

श्रावण २२,२०७८

-आस्था न्यूज

साउन २२, २०७८ काठमाडौं ।
कोभिड-१९ विरुद्धको खोप लगाएपछि पनि कोरोनाको इन्फेक्सन भएको पाइएको छ । यसलाई वैज्ञानिकहरुले ‘ब्रेकथ्रु इन्फेक्सन’ को नाम दिएका छन् । 
 
भारत, अमेरिका लगायत विश्वका थुप्रै देशहरुमा यस्तो अवस्था आएको छ । खोपको दुवै डोजपछि पनि भाइरसको संक्रमणले गम्भीर बिरामी बनाउने र अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आएको छ । ‘ब्रेकथ्रु इन्फेक्सन’ रोक्नका लागि इजरायल लगायत केही देशहरुले बुस्टर डोज पनि लगाउन सुरु गरिसकेका छन् । 
 
तर, कति प्रतिशत मानिसहरुलाई खोपको दुवै डोज लगाएपछि पनि इन्फेक्सन हुने खतरा छ त? यसको उत्तर नयाँ अनुसन्धानबाट पत्ता लागेको छ । बेलायतमा गरिएको एक अनुसन्धानले दुवै डोज खोप लगाएपछि कोरोना संक्रमण हुने खतरा ६० प्रतिशत कम हुने उल्लेख गरेको छ । 
 
अर्थात, तीन जनामध्ये एक जनालाई कोरोना खोप लगाएपछि पनि इन्फेक्सन हुने खतरा रहन्छ । त्यसैले, विशेषज्ञहरुले खोप लगाएपछि पनि मास्क, सामाजिक दूरी, स्यानिटाइजर जस्ता कुराहरुमा विशेष ध्यान दिन आग्रह गरेका छन् । 
 
बेलायतको इम्पीरियल कलेज अफ लण्डन र मार्केट रिसर्च फर्म इप्सोस मोरी (Ipsos MORI)  ले संयुक्त रुपमा जुन २४ देखि जुलाई १२ सम्म ९८,२३३ नमुना संकलन गरेका थिए । यसको विश्लेषण गरेर अगस्ट ४ मा अध्ययन रिपोर्ट सार्वजनिक गरिएको थियो । यो अध्ययनलाई रियाक्ट नाम दिइएको छ ।