पशुपतिको जलहरीमा ११ केजी सुन घोटाला, परीक्षण गर्दै अख्तियार

भाद्र २३,२०७८

-आस्था न्यूज

भदौ २३, २०७८ काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको पुनः परीक्षण गर्ने भएको छ । १ सय ८ केजी सुनको जलहरी बनाउँदा कोषका वर्तमान र पूर्वपदाधिकारी तथा कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियारले जलहरीको पूर्ण प्राविधिक परीक्षण गर्न लागेको हो ।
 
स्रोतका अनुसार अख्तियारले कोषका सदस्यसचिव मिलनकुमार थापासँग सोमबार र मंगलबार १२ घण्टा बयान लिँदै १२ पाने कागज भराएको छ । थापा २०७८ भदौ १२ अघिसम्म कोषका कोषाध्यक्ष थिए । पर्यटनमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई भदौ १८ मा मन्त्रिपरिषद् बैठकबाट कोषको सदस्यसचिव नियुक्त गरेका थिए ।
 
जलहरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा सदस्यसचिव थापा, निवर्तमान सदस्यसचिव प्रदीपकुमार ढकालसहित पदाधिकारी र कर्मचारी गरेर २२ जनामाथि अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ । निवर्तमान सदस्यसचिव ढकालको साउन ३१ मा कार्यकाल सकिइसकेको छ ।
 
२०७७ माघ ११ मा पशुपतिनाथको दर्शन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । जलहरी फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । 
 
तर कोषका ५ जना सदस्यले जलहरी निर्माणसम्बन्धी हिसाबकिताब माग्दा नपाएपछि अनियमितताको आशंका गरिएको थियो । त्यसपछि जलहरी राख्ने कार्यबारे उजुरी र प्राप्त कागजातका आधारमा अख्तियार अनुसन्धानका लागि तातेको थियो ।
 
केही दिनअघि मात्रै निवर्तमान सदस्यसचिव ढकाललगायतसँग अख्तियारले बयान लिइसकेको छ । ‘पूर्वपदाधिकारीसहित धेरै जनासँग बयान लिइसकेका छौं,’ स्रोतले भन्यो, ‘अब केहीसँग सोधपुछ र बयान सकेर जलहरीको प्राविधिक परीक्षण गर्ने योजना छ ।’ 
 
स्रोतका अनुसार कोषका पदाधिकारी र केही कर्मचारीको मिलेमतोमा चाँदी र तामाको परिमाण बढी राखेर जलहरी बनाइएको विषयमा अनुसन्धान भइरहेको छ । कान्तिपुरमा खबर छ ।