एमालेले एमसीसीबारे तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने

भाद्र २३,२०७८

-आस्था न्यूज

भदौ २३, २०७८ काठमाडौं ।
एमालेले एमसीसीबारे तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । बुधबार संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदले एमसीसीबारे पार्टीले धारण सार्वजनिक गर्नुपर्ने बताएका थिए ।
 
विगतदेखि नै ओली पक्षमा रहेका सांसदहरूले जनताले एमसीसी चाहिँदैन भनिरहेका बेला एमालेले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग उठाएका थिए ।
 
कृष्णभक्त पोखरेल, महेश बस्नेत, गंगा चौधरीलगायतका सांसदले एमसीसीबारे पार्टीले स्पष्ट धारणा व्यक्त गर्नुपर्ने बताएका हुन् । सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा एमसीसी प्रस्ताव आए गम्भीरतापूर्वक छलफल गरेर धारणा बनाउने बताए । उनले सम्झौता आफूहरूले नगरेका कारण पास गर्ने जिम्मा आफूहरूको नभएको बताए । 
 
उनले भने, पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन। प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौं र धारणा बनाउँछौं ।
 
बैठकमा उपाध्यक्ष भीम रावलले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने धारणा व्यक्त गरेका थिए । उनले एमसीसी नेपालको कानुन र संविधानभन्दा माथि हुने गरी पास गर्न नहुने बताए । उनले एमसीसी कसरी नेपालको संविधान र कानुनभन्दा कसरी माथि छ भन्ने कुरा प्रमाणित हुने कागजात उपलब्ध गराउने बताएका थिए । 
 
अध्यक्ष ओलीले रावलले उपलब्ध गराउने कागजातको अध्ययनपछि धारणा बनाउने पनि बताएका थिए । उनले भने, अहिले हावामा कुस्ती नखेलौँ, सत्तारूढ दल कसरी प्रस्तुत हुन्छ त्यसपछि धारणा बनाउँला ।
 
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता अनुमोदन गराउन दृढ छन् । तर, गठबन्धन घटकहरूको विश्वास लिन उनलाई सकस भइरहेको छ । तत्कालीन नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले सम्झौतामा संशोधन, सुधार र परिमार्जन भए मात्र अगाडि बढाउन सकिने सुझाव दिएको थियो । तर, खनालसँगै एमसीसीको विरोधमा उत्रिएका भीम रावल र प्रतिवेदनमा फरक मत लेख्ने प्रदीप ज्ञवाली एमालेमै छन् ।