एमाले सुदूरपश्‍चिम इन्चार्ज भट्टलाई नै निरन्तरता, रावलको असन्तुष्टी

भाद्र २७,२०७८

-आस्था न्यूज

भदौं २७, २०७८ काठमाडौं ।
 
एमालेले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई निरन्तरता दिने तयारी गरेको छ । बालकोटमा आइतबार बिहान भएको अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो समयमा भट्टले पार्टीलाई साथ दिएको हुनाले उनलाई नै इन्चार्जमा निरन्तरता दिने बताएपछि उपाध्यक्ष रावल असन्तुष्ट बनेका छन् । रावल २०७५ जेठ २ सम्म सुदूरपश्चिम इन्चार्ज थिए ।
 
अध्यक्ष ‌ओलीले आइतबार बिहान उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापासहितका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा ओलीले रावललाई उपाध्यक्षको रुपमा नै काम गर्न र भट्टलाई इन्चार्जमा निरन्तरता दिनुपर्ने बताएका थिए ।
 
ओलीको प्रस्तावको जवाफमा रावलले २०७५ जेठ २ गतेको सुदुरपश्चिम कमिटी इन्चार्ज आफू भएको र उक्त जिम्मेवारी फेरि पनि आफैले पाउनुपर्ने बताएका थिए । त्यसपछि ओलीले कुनै प्रतिक्रिया व्यक्त नगरेको एक सांसदले भने ।
 
बालकोटको ९ देखि १२ बजेसम्म चलेको बैठकपछि सांसद रहेका नेताहरु नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी भए । अध्यक्ष ओलीले १० बुँदे सहमतिअनुसार सुदूरपश्चिम इन्चार्ज बनाउन अस्वीकार गरेपछि असन्तुष्ट बनेका रावल भने संसदीय दलको बैठकमा सहभागी भएनन् ।
 
दिउँसो साढे एक बजे प्रतिनिधिसभा बैठक सुरु भएपछि रावल संसद् भवन पुगेका थिए । तर उनी बैठकमा बसेनन् । छुट्टै कोठामा उनले आफू निकट सांसदहरुसँग छलफल गरेका थिए ।
 
रावलले दीपकप्रकाश भट्ट, झपट रावल, राजबहादुर बुढा, योगेश भट्टराईसहितका नेताहरुसँग बिहान ओलीसँग भएको बैठकबारे जानकारी गराएका थिए ।
 
संसद् भवनबाट बाहिरिएका सांसद यज्ञराज सुनुवार छलफलका लागि फिर्ता बोलाइएको छ । छलफलपछि बाहिरिएका उपाध्यक्ष रावललाई सञ्चारकर्मीहरुले सो विषयमा जिज्ञासा राखेका थिए । मसँग केही कुरा छैन भन्दै रावल बाहिरिएका थिए ।
 
संसद्‌बाट बाहिरएका रावलले सिंहदरबारमा आफू निकट नेताहरुसँग छुट्टै छलफल गरेका थिए । सो बैठक भानुभक्त जोशीले आयोजना गरेका थिए । 
 
सिंहदरबारमा भएको छलफलपछि ईकान्तिपुरसँग कुरा गर्दै सांसद तथा केन्द्रीय सदस्य झपट रावलले असार २७ गते भएको १० बुँदे सहमति इमान्दारिकाताका साथ पालना गर्नुपर्ने विषयमा कुराकानी भएको बताए ।
 
१० बुँदेको इमानदारीका साथ कार्यान्वयन र पार्टीलाई २०७५ जेठ २ पहिलको अवस्थाबाट सञ्चालन गर्ने भन्नेबारे छलफल भएको हो । पार्टी एकतामा जाने अन्तिम समयसम्म पनि प्रयत्न गर्ने भन्ने हो, उनले भने, व्यक्तिलाई हेरेर होइन नीतिअनुसार विधिअनुसार पार्टी सञ्चालन हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।
 
हामीमाथि न्याय गर अरुमाथि अन्याय गर भन्ने होइन पार्टी १० बुँदेअनुसार नीति र विधिमा चल्नुपर्छ भन्ने हो ।