बजेटले पहिलो पटक गरिबलाई सम्झिएको छः अर्थमन्त्री शर्मा

भाद्र २८,२०७८

-आस्था न्यूज

भदौ २८, २०७८ काठमाडौं ।
सरकारले बजेटमार्फत पहिलो पटक पिँधमा रहेका विपन्न तथा गरिबलाई राहतको कार्यक्रम ल्याएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले राज्यको दायित्व सम्झिएर गरिबदेखि दीर्घरोगीलाई सुविधा दिएको बताउनुभयो ।
 
सरकारले पहिलो पटक बजेटमार्फत गरिबलाई सम्झिएको छ, उहाँले भन्नुभयो, कोभिडबाट प्रभावित पनि भएको र दशैँ पनि आएको समयमा विपन्न र अति गरिबलाई नगद हस्तान्तरण गर्ने कार्यक्रम ल्याइएको हो ।
 
भदौ २५ गते मन्त्री शर्माले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको उक्त प्रतिस्थापन विधेयकमा कोभिड-१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक र असङ्गठित क्षेत्रमा रहेका विपन्न गरिब पाँच लाख परिवारलाई सरकारले राहतस्वरूप एक पटकका लागि दस हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । 
 
असोजभित्र उपलब्ध गराइने उक्त नगद वितरणका लागि मन्त्रालयले छुट्टै मापदण्ड बनाउने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । स्थानीय तहको सहजीकरणमा वरपरका घरपरिवारको समेत सहमति हुने गरी नगद वितरण गरिने उहाँले बताउनुभयो ।
 
उहाँले निकै छोटो समयमा अध्यादेशका केही विनियोजनहरूलाई मात्र संशोधन गरेर प्रतिस्थापन विधेयक ल्याउनुपरेको बताउनुभयो । संशोधन गर्दा आवश्यक विषयमा मात्र नीतिगत परिवर्तन गरिएको र संशोधनपछि कुल बजेटको बढीमा २ प्रतिशत मात्र हेरफेर गरिएको उहाँले जानकारी दिनुभयो ।
 
संशोधनपछि खासगरी अर्थ नभएका नाम मात्रका योजनालाई हटाइएको उहाँले बताउनुभयो । त्यस्तै स्रोत सुनिश्चितता नभएका, सहमति र सम्झौता नभएका आयोजनालाई हटाइएको र पुँजीगत खर्चलाई बढाउने आयोजनालाई मात्र जोड दिइएको उहाँले जानकारी दिनुभयो ।
 
बजेट विनियोजन हुने तर प्रतिफल नहुने कार्यक्रमलाई समेत सरकारले संशोधनमार्फत हेरफेर गरेको उहाँको भनाइ थियो । गोरखापत्रमा खबर छ ।