जनगणनापछि सबै वडाको आआफ्नै अभिलेख तयार हुने

भाद्र २८,२०७८

-आस्था न्यूज

भदौ २८,२०७८ काठमाडौं ।
जनगणना २०७८ सम्पन्न भएपछि देशभरका सबै वडाको आआफ्नै अभिलेख तयार हुने भएको छ ।
 
केन्द्रीय तथ्याङ्क विभागले सबै वडाको अभिलेख निर्माण हुने गरी प्रश्नावली तयार गरेको छ । ७५३ स्थानीय तहका छ हजार ७४२ वटै वडाको अभिलेख निर्माण गर्ने गरी विभागले प्रश्नावली तयार गरेको हो ।
 
वडा तहको वास्तविक अभिलेखसहितको वस्तुस्थिति विवरणको अभावमा अहिले पनि विकास निर्माण, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयनमा चुनौती कायमै छ । केही पालिकाले पालिका स्तरको अभिलेख निर्माण गरे पनि वडागत अभिलेख भने निर्माण हुन सकेको छैन । स्थानीय तहको पुनर्संरचनापछि सबै स्थानीय तहका वडा नयाँ हुन् ।
 
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा। हेमराज रेग्मीले विभागले प्रोफाइल निर्माण भएपछि आगामी दिनमा वडाले कस्तो नीति र योजना बनाउँदा नागरिकमैत्री बनाउन सकिन्छ भन्ने चित्रण गर्न सहज हुन्छ । 
 
आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणनाका सबै कार्य सम्पन्न गर्ने गरी विभागले नयाँ कार्यतालिका हालै सार्वजनिक गरी सोहीअनुसार काम धमाधम गरिरहेको छ । गोरखापत्रमा खबर छ ।