बंगलादेशले नेपालसँग २०० मेगावाट बिजुली माग्यो

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौं २९, २०७८ काठमाडौं ।
नेपालले भारतको बिहार राज्यसँग विद्युत् आदान-प्रदानका लागि आग्रह गरेको केही दिनमै बंगलादेशसँग पनि विद्युत् आदानप्रदान र व्यापारको प्रस्ताव गरेको छ । 
 
सोमबार सुरु भएको दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकमा भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
 
 
भर्चुअल बैठकमा बंगलादेशले नेपालबाट तत्काल बिजुली दिन सक्ने-नसक्नेबारे सुनिश्चितता खोजेको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए । ‘बैठकमा विशेषगरी नेपालको दुई सय मेगावाट बिजुली बंगलादेशलाई दिने र सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा संयुक्त लगानी खोज्ने विषयमा छलफल भयो,’ उनले भने ।
 
गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको बिहार राज्यसँग बर्खायाममा दुई सय मेगावाट विद्युत् लिन र हिउँदमा सोही परिमाणमा नेपाललाई उपलब्ध गराउन प्रस्ताव गरेका थिए ।
 
बर्खायाममा उत्पादित बिजुली बढी हुने र हिउँदमा माग धान्न नसक्ने भएका कारण नेपालले ‘इनर्जी एक्सचेन्ज’ का लागि बिहारसँग प्रस्ताव गरेको हो । सोही अवधारणामा बंगलादेशसँग पनि विद्युत् आदानप्रदानका लागि छलफल अघि बढेको हो ।
 
नेपालले बंगलादेशसँग विद्युत् व्यापारका लागि भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्छ । विद्युत् व्यापार वा आदानप्रदानमा भारतको भूमि प्रयोग गर्नुपर्ने भएकाले त्रिदेशीय रूपमा छलफल र वार्ता गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । बंगलादेशले चासो देखाउँदै आएको सुनकोसी-३ र खिम्ती-शिवालय जलाशययुक्त जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयमा पनि छलफल भएको छ ।
 
सुनकोसी–३ बाट ५ सय ३६ मेगावाट र खिम्ती–शिवालयबाट ६ सय मेगावाट विद्युत् उत्पादनको सम्भावना छ । नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कम्पनी अफ बंगलादेश (पीजीसीबी) को संयुक्त उपक्रम ९जोइन्ट भेन्चर० मा लगानी कम्पनी खोलेर आयोजना विकास गर्न छलफल भएको भेटवालले बताए । यी दुवै आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन विद्युत् विकास विभागले गरिरहेको छ ।आजको कान्तिपुरमा खबर छ ।