त्रिकोणात्क सिरिजः अमेरिकामाथि नेपालको शानदार जित

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौं २९, २०७८ काठमाडौं ।
ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ ।  ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।
 
अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । उनले यसअघि पपुवा न्यु गिनीविरुद्धको सिरिजको दोस्रो खेलमा ८६ रन बनाएका थिए । विनोद भण्डारीले ३७ रन योगदान गरे ।
 
अमेरिकाले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।