हराएको ६२ वर्षपछि पाटनको उमामहेश्वर मूर्ति अमेरिकाबाट ल्याइदै

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौ २९, २०७८ काठमाडौं ।
पाटनको कुम्भेश्वर मन्दिर गास्हिटीमा रहेको र सन् १९६० को मध्यतिर हराएको उमामहेश्वरको मूर्ति अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएपछि लामो अनुसन्धान प्रक्रिया टुंग्याएर वासिंटनस्थित नेपाली दूतावासलाई बुझाइएको छ ।
 
दशौं शताब्दीमा निर्माण भएको मानिने पुरातात्विक महत्त्वको यो सम्पदा डेनभर म्युजियममा भेटिएकोबारे एक वर्षअघि समाचार सार्वजनिक भएपछि यसको ‘उत्पत्तिको थलो’ सहितका प्रमाण जुटाउँदै काठमाडौंस्थित अमेरिकी दूतावास, युनेस्कोसहितको समन्वयमा उक्त मूर्ति नेपाललाई फिर्ता दिइएको हो । 
 
अमेरिका फेला परेका नेपाली सम्पदाजन्य मूर्तिहरु फिर्ता ल्याउन अमेरिकी प्रहरी सुरक्षा निकाय फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन९एफबीआइ०ले सहयोग गर्दै आएको छ ।
 
कैलाश पर्वतमा बसिरहेको पृष्ठभूमिमा शिव-पार्वतीसहितको कुँदिएको प्रतिरुप मूर्ति बारेमा अन्वेषक लैनसिंह वाङ्देलले आफ्नो पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’(सन् १९८९)मा समेत उल्लेख गरेका छन् । ‘भगवान शिव ललितासनमा बसेको र गणेश, कुमार, नन्दी, भृङ्गिसहितका भगवान आकृतिहरुको विशिष्ट शिल्पी यो मूर्तिमा समेटिएको छ,’ वाङ्देलले उमामहेश्वर मूर्तिको बयान (पृष्ठ ७६)मा भनेका छन् ।
 
सन् १९८० देखि डेनभर म्युजियममा रहेको उमामहेश्वर मूर्तिका बारे विगतमा पनि सूचना-समाचार आए पनि सम्पदा घर फर्काउनमा सरकारी तहको पहल हुन सकेको थिएन । पछिल्ला वर्षमा मात्रै परराष्ट्र मन्त्रालय, संस्कृति मन्त्रालय, पुरातत्व विभागसहितले आफ्ना हराएका र चोरिएका सम्पदा विदेशस्थित संग्रहालयबाट घर फर्काउन विशेष जोड दिँदै आएका छन् । कान्तिपुरबाट साभार