संक्रमित घटेपछि खाली हुन थाले चितवनका कोभिड वार्ड

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौ २९,२०७८ काठमाडौं ।
कोरोना संक्रमणको दर घटेसँगै चितवनका अस्पतालहरुका कोभिड वार्डहरु खाली हुन थालेका छन् ।
 
जिल्लाका अस्पताल र पालिकाहरुले सञ्चालन गरेका आइसोलेसन सेन्टरमा ७१७ वेड छन्, जहाँ वेडमा सोमबार साँझ जम्मा ५१ जना बिरामी रहेका छन् ।
 
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा कोभिडका लागि ११० वेड छुट्याइएको छ, जहाँ ३७ जना बिरामी छन् । ११ जना आइसियू, १५ जना एचडियू र र ११ जना साधारण वेडमा उपचाररत छन् ।
 
यसैगरी चितवन मेडिकल कलेजमा १३२ वेड छ, नौ जना बरामी रहेका छन् । ५ जना आइसियू र ४ जना एचडियूमा उपचाररत छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा २१० बेडमा एक जना मात्रै बिरामी छन् । उनको आइसियूमा उपचार भइरहेको छ ।
 
यस्तै १४० वेड कोभिडका लागि छट्याएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक जना मात्रै बिरामीको साधारण बेडमा उपचार भइरहेको छ । कालिका नगरपालिकामा २ जना र जिल्लाका अन्य निजी अस्पतालमा एक जना कोभिड संक्रमितको उपचार भइरहेको छ । अरु बेडहरु खाली छन् ।
 
भरतपुर महानगरपालिकाले ३०, माडी नगरपालिकाले १०, रत्ननगर नगरपालिकाले ८, खैरहनी नगरपालिकाले २०, कालिका नगरपालिकाले १२ र इच्छाकामना गाउँपालिकाले २५ वेड अक्सिजन सहितको कोभिड वार्ड तयार गरेका छन् ।