सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले एकीकृत समाजवादी रोज्न पाउने

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौ २९, २०७८ काठमाडौं ।
नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् ।
 
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुबेदीको सँयुक्त इजलासले पाण्डे र भट्टको माग बमोजिम अन्तरिम आदेश दिएको छ । पाण्डे र भट्टले आफूले नेकपा (एस) रोज्न पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
 
निर्वाचन आयोगले नेकपा (एस)लाई दर्ता गर्नुअघि नै भदौ ८ मै निर्वाचन आयोगमा निवेदन दिइसकेको भन्दै उनीहरुको नाम सनाखतमा समावेश नगराउनु मनासिव नदेखिएको सर्वोच्चले व्याख्या गरेको छ ।
 
सर्वोच्चले पाण्डे र भट्टमार्थि एमालेले कुनै कारबाही गर्न नपाउनेसमेत अन्तरिम आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा राष्ट्रियसभामा एमालेको एक-एक सिट घटेको छ भने नेकपा (एस)मा बढेको छ ।
 
अब प्रतिनिधिसभामा एमाले ९८ सिटमा घटेको छ भने राष्ट्रियसभामा २५ सिटमा झरेको छ । नेकपा एसको भने प्रतिनिधिसभामा २३ सिट र राष्ट्रियसभामा ७ सिट पुगेको छ ।