दशैंका लागि तीन हजार खसीबोका ल्याउने सरकारको तयारी

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौ २९, २०७८ काठमाडौं ।
दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ ।
 
महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेसँगै विभिन्न क्षेत्रका उद्योग, व्यवसाय प्रभावित भएका छन् । तर, पछिल्लो समयमा सरकारले निषेधाज्ञा हटाएको छ । तर, बजार भने पूर्ववत रूपमा फर्कन अझै समय लाग्ने व्यवसायीहरूको भनाइ छ । कम्पनीले भने दशैं जस्तो चाडमा खसी, बोका र च्यांग्राको मासु कम नहोस् भन्न खरिदको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
 
कम्पनीका अनुसार खसी९बोका १५ सय र च्यांग्रा १५ सय ल्याउने कम्पनीका विभागीय प्रमुख भीम थापाले बताए । गत वर्ष दशैंमा १५ सय नौवटा च्यांग्रा र खसी ल्याइएको कम्पनीले जनाएको छ।
 
कम्पनीले उपभोक्ताको मागअनुसार खसी-बोका तथा च्यांग्रा खरिद गर्ने जानकारी दिएको छ । दशैं नजिकिइसक्दा पनि मूल्य निर्धारणमा भने अलमल भइरहेको छ । विभागीय प्रमुख थापा भन्छन्, ‘ उपभोक्तालाई मार नपर्ने गरी मूल्य निर्धारण गरिन्छ, बजारको भन्दा सस्तोमा नै दिन्छौँ । अहिले कारोना महामारीले सबै किसान प्रभावित भएका छन् । त्यसैले, किसानको लागतअनुसार मूल्य निर्धारण गर्छौँ ।’
 
उनले अहिले बजारमा डिजेलको भाउ पनि बढ्दै गएकाले ढुवानी खर्च पनि बढ्ने भन्दै सो कुरालाई ध्यानमा राखेर मूल्य तोकिने बताए । गत वर्ष खसी-बोका प्रतिकेजी पाँच सय ५० रुपैयाँ तोकिएको पनि उनले बताए ।
 
उपत्यकामा खसी-बोका तथा च्यांग्रा मुस्ताङ, मकवानपुर र दाङका किसानबाट खरिद गरिने जानकारी दिए । यसले गर्दा कम आयस्रोत भएका व्यक्तिले पनि उपभोग गर्नसकिने उनको दाबी छ । साथै, खसी–बोका तथा च्यांग्राको उपभोगबाट वञ्चित नहुने उनले बताए । न्युज कारखाना