सबैको पहुँच र गुणस्तरीय शिक्षा अभियानमा ध्यान केन्द्रित गर्न देउवाको आग्रह

भाद्र ३०,२०७८

-रासस

भदौं ३०, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । 
 
ललितपुरस्थित नमुना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा बुधबार उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयमा उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।
 
२०७२ वैशाखमा गएको भूकम्पबाट मुलुकका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उनले खुसी व्यक्त गरे । विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएमा सो कार्यमा सहयोग गर्ने उनले सबैलाई धन्यवाद दिए । जापानको ऋण सहयोगमा १२ करोड तीन लाख रुपैयाँको लागतमा सो विद्यालय निर्माण गरेको हो ।
 
जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिए । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म छ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी पुनर्निर्माणका क्रममा छन् ।
 
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भूकम्पबाट मुलुकमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गरे । अग्रजहरुले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रुपमा चिनिएको भन्दै उनले आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताए ।
 
मौलिक अधिकारका रुपमा रहेको शिक्षाका लागि हालको बजेट पर्याप्त नभए पनि उपलब्ध बजेट र भएका कार्यक्रमको कार्यान्वयन गरी परिणाम निकाल्न सके सरकारको उद्देश्य सफल हुने मन्त्री भुसालको भनाइ थियो ।