परराष्ट्रको पत्रले एनआरएन को निर्वाचन प्रक्रिया अन्योलमा

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौ ३१,२०७८ काठमाडौं ।
१० औं विश्व सम्मेलनको तयारीमा रहेको गैरआवासीय नेपाल संघ ९एनआरएनए० को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा मन्त्रालयले हस्तक्षेप गरेपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ ।
 
एनआरएनको चुनावमाथि हस्तक्षेप गर्दै परराष्ट्र मन्त्रालयले आगामी अक्टोबर २० (कात्तिक ३ गते) मा हुने  निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन भनेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले भदौ २५ गते एनआरएनएलाई पत्र लेखेर निर्वाचन रोक्न निर्देशन दिएका हुन् ।
 
आगामी कात्तिक ३ गते नयाँ नेतृत्वका लागि चुनाव गर्ने कार्यतालिका तय भइसकेको अवस्थामा परराष्ट्र मन्त्रालयले एनआरएनएको चुनाव रोक्न भनेको हो । नयाँ नेतृत्व चयन गरेको तीन दिनपछि, अक्टोबर २३-२५ (कात्तिक ६-८ गते) सम्म विश्व सम्मेलन गर्ने गैरआवासीय नेपाली संघको कार्यतालिका छ ।
 
एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको विदेशमा रहेका नेपालीहरुको  साझा संस्था हो । ८० बढि देशमा यसका शाखाहरु छन् । परराष्ट्र मन्त्रालयसँग समन्वय र सहकार्य गरेर एनआरएनएले आफ्नो गतिविधि गर्दै आएको छ ।