चीनको सिचुआनमा शक्तिशाली भूकम्पः कम्तीमा तीन जनाको मृत्यु

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौं ३१, २०७८ काठमाडौं ।
चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । 
 
घाइतेहरू सबैलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
 देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायिक उद्धारकर्मीहरु परिचालन गरिएको र अन्य स्वयमसेवक तथा स्थानीय बासिन्दाहरु पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ ।  
 
त्यसैगरी अरु चार हजार ६०० उद्धारकर्ताहरु तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । प्रारम्भिक विवरणकाअनुसार ७३७ घरहरु भत्किएका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ ।
 
घर बाहेक अन्य भौतिक संरचनाहरुमा पनि क्षति पुगेको देखिएको छ । खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।