आजदेखि विभिन्न स्थानमा दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

आश्विन ०१,२०७८

-आस्था न्यूज

असोज १, २०७८ काठमाडौं ।
 
सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैंरतिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।
 
सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
 
मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बताइन् । उनले दशैँदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुने बताइन् ।
 
दशैं÷तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । व्यापार कम्पनी, कर्पोरेशन र दुग्ध विकास संस्थानले उपत्यकामा पनि सहुलियत पसल सञ्चालन गर्नेछन् ।
 
आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । यस बीचमा व्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउनेछन् ।
 
व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले काठमाडौं उपत्यकासहित देशभरका ३७ जिल्लाबाट दशैं÷तिहार लक्षित व्यापार गर्ने बताइन् ।