प्रदेश १ र बागमतीमा अब बन्ने हाम्रो सरकारलाई स्वागत गर्न तयार रहनुस्ः माधव नेपाल

आश्विन ०४,२०७८

-आस्था न्यूज

असोज ४, २०७८ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
 
सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’
 
उनले आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता कार्यकर्तालाई नआत्तिन समेत आग्रह गरे । प्रदेश २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरुलाई उनले धन्यवाद व्यक्त गरे ।
 
नेपालले एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न समेत गरे । ‘आज हामी सुनिरहेका छौं चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । 
 
यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले?,’ उनले प्रश्न गरे, ‘कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’
 
अध्यक्ष नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भए पनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाक भाँचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी गरे ।