कोरियाबाट फर्केका कामदारलाई कम्पनीले फेरि बोलायो

आश्विन २१,२०७८

-आस्था न्यूज

असोज २१,२०७८ काठमाडौं।
दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि लैजाने भएको छ । त्यसका लागि कोरियाले २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा फर्केका ११९ प्रतिबद्ध कामदारको नामसमेत पठाइसकेको छ ।
 
प्राथमिकताका आधारमा छनोट भएका ५० जनालाई कात्तिक १० गते लैजाने कोरियाको भनाइ छ । ती कामदार सिधा उडानमार्फत मात्रै जान पाउनेछन् ।
 
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सिधा उडानमार्फत कोरिया कामदार पठाउन निर्देशिका संशोधन गरेको छ । यसअघि ट्रान्जिट विमानस्थल प्रयोग गरी जान पाउने प्रावधान थियो । जसले गर्दा कामदारले कोरिया जाने टिकट सस्तो दरमा पाउँदै आएका थिए । कोरोना जोखिम देखाएर कोरियाले सिधा उडान हुनुपर्ने माग गर्दै आएको छ ।
 
कोरियाले सिधा उडान, नेपाल र कोरियाको क्वारेन्टाइनको खर्च कामदारले नै बेहोर्नुपर्ने र सीटीईभीटीमा परीक्षा हुनुपर्ने सर्त राखेको थियो । दुई वटा सर्त पूरा भएको छ,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘तत्काल भाषा परीक्षा हुँदैन । 
 
अब हुने भाषा परीक्षा पनि सीटीईभीटीमै हुनेछ ।’ ती अधिकारीले सरकारले निर्देशिका संशोधन गरेपछि प्रतिबद्ध कामदार पठाउन समस्या नभएको बताए ।कान्तिपुरमा खबर छ ।