जिप दुर्घटनामा घान्द्रुक घुम्न गएका ८ जनाको मृत्यु

आश्विन २५,२०७८

-आस्था न्यूज

असोज २५, २०७८ काठमाडौं ।
 
कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट घुम्न गएका ५ पुरुष, २ महिला र जिपका चालक खुसीमान क्षेत्रीको मृत्यु भएको हो ।
 
घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा ग१ज ६९०० नम्बरको जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
 
जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । सोमबार करिब दुई बजेतिर भएको दुर्घटनामा मृत्यु हुनेमा प्राय सबै युवाहरु रहेको स्थानीय थमन सुनारले बताए ।
 
दुर्घटनामा मृत्यु हुने जिप चालक अन्नपूर्ण गाउँपालिका-५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् । यस्तै काठमाडौँ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए ।