सोमबारबाट मनसुन बाहिरियोः यस वार्ष सरदरभन्दा १५ प्रतिशत बढी वर्षा

आश्विन २५,२०७८

-आस्था न्यूज

असोज २५, २०७८ काठमाडौं ।
नेपालबाट सोमबार मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले केही बेरमा मनसुन बाहिरिएको बारे विशेष बुलेटिन सार्वजनिक गर्दैछ ।
 
विभागले गत साता (अक्टोबर २ मा) मनसुन बाहिरिने आंकलन गरेको थियो तर भारतका विभिन्न स्थानमा देखिएको मौसमी गतिविधिको असर स्वरुप नेपालका केही स्थानमा वर्षा भएको थियो । नेपालमा सामान्यतया जेठ अन्त्यमा सुरु हुने मनसुन असोज दोस्रो सातासम्म सक्रिय हुने गरे पनि केही वर्षयता मनसुन पछि धकेलिएको छ ।
 
 
यस्तै यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ । यस वर्ष मनसुन सुरु भएलगत्तै असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका क्षेत्रमा आरीघोप्टे वर्षा भयो र त्यसपछि आएको लेदोसहितको बाढीले मेलम्ची बजारमसम्मै ठूलो मात्रामा धनजनको क्षति गराएको थियो ।
 
यो वर्ष मनसुनका चार महिना (जेठदेखि असोज) मा सबभन्दा बढी वर्षा पोखरा (विमानस्थल) मा रेकर्ड भएको छ । पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३०६४ मिमि वर्षा हुन्छ, यो पटक ४२७० मिमि वर्षा भयो ।
 
वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तर पूर्वी क्षेत्रमा भएको छ । अघिल्ला वर्षको मनसुनमा खासै वर्षा नहुने मनाङ–मुस्ताङमा पनि यस वर्ष सरदरभन्दा बढी वर्षा भएको छ । मुस्ताङमा सरदर १५८.५ मिमि वर्षा हुने भए पनि यो वर्ष ४ सय ३० मिमि वर्षा रेकर्ड भएको कँडेलले बताइन् । असार पहिलो साता परेको आरीघोप्टे वर्षापछिको बाढीले मनाङदेखि लमजुङसम्मै क्षति गराएको थियो ।
 
‘मुलुकका ८६ वटा मापन केन्द्रको रेकर्डअनुसार मनसुन सिजनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ’, मौसमविद् कँडेलले कान्तिपुरसित भनिन् । विभागका अनुसार यस वर्ष पनि गत वर्षहरुमा जस्तै धेरै स्थानमा थोरै क्षेत्र ढाकेर क्लाउड बर्स्ट ९आरीघोप्टे वर्षा० भएको छ ।
 
त्यस्तो प्रकृतिको वर्षाले धेरै क्षति गराएको जानकारहरु बताउँछन् । नेपालसहित दक्षिण एसियाली मुलुकहरूका मौसमविद्हरुले यो वर्षको मनसुनमा सरदर वर्षा ९नर्मल० हुने आकलन गत वैशाखमा गरेका थिए । 
 
त्यतिबेला नेपालमा सरदर वर्षा आकलन गरिए पनि पूर्वी नेपाल र पश्चिम नेपालको उत्तरी भागमा सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको थियो । मनसुनी प्रक्रिया करिब १ सय ५ दिन चल्छ । मनसुन अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुन्छ ।