वाग्मती प्रदेश सांसदलाई दसैं भत्ता, स्वकीय सचिवले भने पाएनन्

आश्विन २६,२०७८

-आस्था न्यूज

असोज २६, २०७८ काठमाडौं ।
वाग्मती प्रदेश सरकारले सांसद तथा मन्त्रीलाई दसैंभत्ता उपलब्ध गराए पनि उनीहरुका स्वकीय सचिवलाई भने दिएको छैन । संघीय सरकारले कोरोनाका कारण खर्च कटौतीका लागि ल्याएको मापदण्डलाई प्रदेश सरकारले स्वीकृत गरेसँगै सांसद तथा मन्त्रीका स्वकीयहरु दसैंभत्ताबाट वञ्चित भएका हुन् ।
 
वाग्मती प्रदेशका १०९ सांसदका लागि ५१ लाख १९ हजार ८० रुपैयाँ दसैंभत्ता वितरण गरिएको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाका पदाधिकारी र सदस्यहरुलाई उक्त रकम उपलब्ध गराएको हो ।
 
अघिल्लो वर्षको दसैंमा सांसद र स्वकीय सचिवका लागि दसैंभत्ताबापत प्रदेश सरकारले ८२ लाख ५० हजार ७ सय ९० रुपैयाँ खर्चिएको थियो । ‘कोरोनाका कारण संघीय सरकारले सरकारी खर्च कटौती गर्न मापदण्ड तयार गरेको थियो । 
 
हामीले पनि त्यसलाई स्वीकृत गरेका कारण यस वर्ष स्वकीयहरुलाई भत्ता उपलब्ध नगराइएको हो,’ प्रदेशसभा सचिवालयका लेखा अधिकृत गोविन्द अधिकारीले भने । उनका अनुसार स्वकीयलाई भत्ता उपलब्ध नगराउँदा प्रदेशको करिब ३१ लाख ३१ हजार रुपैयाँ खर्च जोगिएको छ ।