महानवमीमा हनुमानढोको तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने

आश्विन २६,२०७८

-रासस

असोज २६, २०७८ काठमाडौं ।
कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ ।
 
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गएको वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।
 
प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् । यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार आज बिहान ७स११ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजेको साइतमा स्थिरासनमा राखिएको कार्यालय प्रमुख खनालले सुनाउनुभयो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने तयारी भएको छ ।
 
विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ । हनुमानढोकाको दशैँ घरमा फूलपाती भित्र्याउने तयारी हनुमानढोका दरबारको दशैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ । गोरखाबाट दिउँसो ३स्३० बजे जमलमा रहेको फूलपाती विश्रामस्थलमा आइपुग्ने छ । फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवम् स्थानीयवासीसहितको टोली जमल जाने तयारी भएको छ । दिउँसो साँढे चार बजेसम्म हनुमानढोकाको दशैँ घरमा फूलपाती भित्र्याउने तयारी छ ।
 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत उच्च पदस्थ कर्मचारीको पनि सहभागिता रहने जनाइएको छ ।