बुधबार ७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार

मंसिर ०१,२०७८

-आस्था न्यूज

मंसिर १,२०७८ काठमाडौं ।
बुधबार सेयर बजारको परिसूचक नेप्सेले २८ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा १६.९५ अंक बढेसँगै नेप्से २८०१ मा पुगेको हो । कारोबार भइरहँदा २ बजे नेप्से २८२४ अंकसम्म पुगे पनि अन्तिममा केही ओरालो लाग्दा वृद्धिको अंक खुम्चिन पुग्यो । 
 
बुधबार कारोबार रकम बढेको छ । ७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि मंगलबार ६९ अंकले परिसूचक बढ्दा ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो । बैंकिङ उपसमूह ४, व्यापार २५, होटल तथा पर्यटन ५१, जलविद्युत ७१, फाइनान्स ३२, अन्य १०५ र माइक्रोफाइनान्स उपसमूह ८ अंकले बढे । विकास बैंक ७५, निर्जीवन बीमा ६, उत्पादन १०० र जीवन बीमा उपसमूह ८४ अंकले घटे ।
पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । पन्चकन्या माइ हाइड्रो, माथिल्लो तामाकोसी, मानुसी लघुवित्त, तेह्रथुम पावर र नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य साढे ९ प्रतिशतले बढ्यो भने टेलिकमको मूल्य ८।८ प्रतिशतले बढेको छ ।
 
बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घट्यो । समग्रमा ८८ कम्पनीको मूल्य घटेको छ भने ९४ कम्पनीको मूल्य बढेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।