अमेरिकाले कोभिड-१९, जलवायु परिवर्तन लगाएतका विषयमा नेपाललाई सघाउने

मंसिर ०३,२०७८

-आस्था न्यूज

मङ्सिर ३,२०७८ काठमाडौं ।
अमेरिकाले कोभिड-१९, जलवायु परिवर्तन र आपसी हितका अन्य विषयमा नेपाललाई निरन्तर सघाउने तथा साझेदारी गर्ने प्रतिबद्धता दोहो(याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहिबार साँझ उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्दै दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले नेपालप्रतिको अमेरिकी सहयोग र समर्थनको प्रतिबद्धता दोहो(याउनुभएको हो ।    
    
 नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग सम्बन्ध स्थापना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौँ आइपुग्नुभएका सहायक विदेशमन्त्री लु र आजै यहाँ आउनुभएकी उपसहायक विदेशमन्त्री किडरलिङबीच नेपाल–अमेरिका सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।    
    
 प्रधानमन्त्री र अमेरिकी कूटनीतिक टोलीबीच सात दशकभन्दा पुरानो नेपाल-अमेरिका सम्बन्धलाई थप प्रगाढ तुल्याउने, कोभिड–१९ महामारीको सन्दर्भमा सहयोगका दायरा अझ विस्तार गर्ने, महामारीपछिको पुनरुत्थान एवं पुनःप्राप्तिलगायत साझा हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले राससलाई जानकारी दिनुभयो ।    
    
 वार्तामा नेपालको विकास प्राथमिकताका विभिन्न क्षेत्रका साथै ऊर्जा र भौतिक पूर्वाधारका निम्ति अमेरिकाले अनुदानस्वरुप उपलब्ध गराउने रु ५५ अर्बभन्दा बढीको मिलेनियम कर्पोरेशन च्यालेञ्ज ९एमसिसी०लगायत संयुक्त राज्य अमेरिकाको सहयोगका बारेमा पनि छलफल भएको थियो । यथाशक्य चाँडो एमसिसीलाई संसद्बाट अनुमोदन गर्न अमेरिकी प्रतिनिधिमण्डलले अनुरोध गरेको थियो । दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धको समग्र अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् ।    
    
 प्रवक्ता लम्सालका अनुसार नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा प्रधानमन्त्री देउवाले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै नेपाललाई कोभिड–१९ विरुद्धको खोप उदारतापूर्वक उपलब्ध गराएकामा त्यसको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।    
    
 भर्खरै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२६ का साथै नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको प्रतिकूल असरका बारेमा पनि अमेरिकी अधिकारीहरूसँग गहन छलफल भएको थियो । सहायक विदेशमन्त्री लुले जलवायु वित्त र प्रविधि हस्तान्तरणमार्फत अनुकूलन र जलवायु परिवर्तनका कारण सृजना हुने विपद् न्यूनीकरणका क्षेत्रमा अमेरिकी सरकारको योजनाबद्ध सहयोगबारे जानकारी दिनुभएको थियो ।    
    
प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक मान्यता र मानवअधिकार, विधिको शासनप्रतिको पूर्ण प्रतिबद्धता दोहो¥याउनुभएको थियो भने सहायक विदेशमन्त्री लुले प्रजातन्त्र सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।    
    
 सहायक विदेशमन्त्री लुले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले आयोजना गर्न लागेको लोकतन्त्रका लागि आगामी शिखर सम्मेलनमा सहभागी हुने सुनिश्चितता गर्नुभएकामा प्रधानमन्त्री देउवाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  गोरखापत्रमा खबर छ ।