रसुवा-टिमुरे सुक्खा बन्दरगाह निर्माण सुस्त, भौतिक प्रगति १८ प्रतिशत मात्रै

मंसिर ०८,२०७८

-आस्था न्यूज

मङ्सिर ८,२०७८ काठमाडौं। 
 
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि रसुवा-टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ ।
 
शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति १८ प्रतिशत मात्र रहेको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ मङ्सिर ४ गते बन्दरगाहको शिलान्यास गरिएको थियो । २०७९ जेठभित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।
 
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कोभिड-१९ को महामारीका कारण नेपाल र चीनबीचको द्विदेशीय व्यापारमा थप सहज बनाउने उद्देश्यसहित निर्माण भइरहेको रसुवा–टिमुरे सुक्खा बन्दरगाहको निर्माण निर्धारित समयमा सम्पन्न नहुने स्पष्ट पार्नुभयो ।
 
 समितिका कार्यकारी निर्देशक गजुरेलले कोभिड-१९ को महामारीका कारण चिनियाँ प्राविधिक कामदार स्वदेश फर्केपछि लामो समयसम्म निर्माण कार्य हुन नसक्दा निर्धारित समयमा बन्दरगाहको काम सम्पन्न हुन नसक्ने देखिएको स्पष्ट पार्नुभयो । यस परियोजनामा सबै कामदार र प्राविधिक चीनका नै रहेका छन् ।
 
उहाँले भन्नुभयो, “अहिले दु्रत गतिमा आयोजनाको काम भइरहेको छ । आयोजनाको भौतिक प्रगति १८ प्रतिशत छ । अबको डेढ वर्षभित्र सम्पन्न भई सञ्चालनमा आइसक्ने छ ।” समितिका इन्जिनियर शोभाकान्त राउतले ५० हजार नौ सय वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको यस बन्दरगाहमा पाँचतले कम्प्लेक्स निर्माण भइरहेको जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।