तीनै तहको चुनाव एकैपटक गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भैरहेको छः प्रचण्ड

मंसिर ०८,२०७८

-आस्था न्यूज

मंसिर ८, २०७८ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।
 
बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् । 
 
प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’अध्यक्ष प्रचण्डले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ उनले भने ।
 
पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।
 
प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टेपमाथि गएर अर्को निर्णय गर्ने बताए ।