राप्रपालाई बचाउन उम्मेदवारी दिएको राजेन्द्रप्रसाद लिङ्देनको भनाई

मंसिर ०९,२०७८

-आस्था न्यूज

मंसिर ९, २०७८ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक मात्र सांसद राजेन्द्रप्रसाद लिङ्देनले पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताएका छन् । उनले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताएका छन् । कि राप्रपाको समाप्ति रोज्नुपर्ने कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताए । 
 
अध्यक्षको उम्मेदवारी घोषणा गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सांसदसमेत रहेका लिङ्देनले भने, यो बाध्यकारी कदम हो । कि त हामीले समाप्ति रोज्नुपर्ने थियो कि यो कदम उठाउनुपर्ने थियो ।
 
राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लिङ्देनले बताए । राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ । उहाँहरू (कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी) को पनि समाप्त हुन्छ ।
 
अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दुराष्ट्र ? उनले तीनजना नै अध्यक्षलाई आग्रह गर्दै भने, तपाईहरूको विरासतलाई जोगाएर लान्छौं । अभिभावकीय भूमिकामा बस्नुहोस् । राप्रपाका कार्यकर्तालाई अप्ठ्यारोमा नपार्नुस् ।
 
राप्रपा महामन्त्रीमा धवलशम्शेर राणाले उम्मेदवारी दिने घोषणा गर्दै लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताए । न यो विद्रोह हो न यो तपाईंहरू विरुद्धको उम्मेदवारी हो । राप्रपाको भविष्यलाई सुनिश्चित गर्नका लागि हो । हाम्रो यो कदमले राप्रपालाई अप्ठ्यारो पार्दैन । बलियो बनाउँछ, सुदृढ बनाउँछ ।
 
थापा, जबरा र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा आफू अगाडि बढेको लिङ्देनको भनाइ थियो । आफूहरूले अहिलेसम्म अध्यक्षत्रयको आदेश मानेको तर अब आफै अगाडि बढ्नुपर्ने अवस्था आइलागेको उनको प्रष्टोक्ति थियो । सधैंभरी कारिन्दाको रूपमा हामीलाई लगाएको काम गरिरहेका थियौं । अह्राएको काम गरिरहेकाले अध्यक्ष उठ्छौं भनेपछि अलि असहज भएको होला । उपछि उहाँहरू पनि खुसी हुनुहुनेछ, उनले भने ।