बालुवाटार नसुध्रिएसम्म देश नसुध्रने : बार पूर्व अध्यक्ष विश्वकान्त मैनाली

मंसिर ०९,२०७८

-आस्था न्यूज

मंसिर ९, २०७८ काठमाडौं ।
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले बालुवाटार नसुध्रिएसम्म देश नसुध्रने बताएका छन् । नेपाल बार एसोसिएसनको अग्रसरता नागरिक समाज र विभिन्न पेसागत संगठनले सुरु गर्न लागेको मार्चपासलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष मैनालीले यस्तो आरोप लगाएका हुन् ।
 
बिहीबार बार प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्व अध्यक्ष मैनालीले बालुवाटार नै भ्रष्टाचारको केन्द्रविन्दु भएको समेत आरोप लगाए । 
 
उनले भने, ‘भ्रष्टाचारको केन्द्रविन्दु भनेकै बालुवाटार हो । यदि यो देशलाई सुधार गर्ने हो भने पहिले बालुवाटारको सुधार गर्नुपर्छ । त्यसकारण सर्वोच्च अदालतदेखि बालुवाटारसम्म गर्न लागिएको मार्चपास न्यायालय र देश सुधारको लागि हो ।’
 
न्यायपालिका सुधारका लागि बारले पवित्र उद्देश्यले आन्दोलन गरिरहेको भन्दै यस्तो आन्दोलन प्रशंसनीय रहेको समेत मैनालीले बताए । नागरिक समाज पनि यस्तो आन्दोलनमा सहभागी भएर ऐक्यबद्धता जनाउनु भनेको न्यायपालिका र देश सुधारको लागि प्रतिबद्ध रहेको समेत मैनाली बताए ।