सहमतिमै नेतृत्व चयनको लागि भरपुर प्रयास हुन्छः रामविर मानन्धर

मंसिर ०९,२०७८

-आस्था न्यूज

मंसिर ९, २०७८ काठमाडौं ।
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री रामविर मानन्धरले आफूले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । 
 
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूले जनजाति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।
 
उनले भने,‘जनजाति क्लष्टरबाट २२ जनाले उम्मेद्धवारी दिने हो, त्यसमा ७ जना महिला हुनुहुन्छ र  १५ जना पुरुष हुन्छन् । मैले त्यसको लागि केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेद्धवारी घोषणा गरेको हुँ ।’
 
उनले यसपटक पार्टीमा सर्वसम्मत् रुपमा नेतृत्व चयन हुने पनि बताए । उनले भने,‘नेतृत्व यसपटक सर्वसम्म्त रुपमा चयन गर्ने कुरा छ । तर, प्रतिष्पर्धामा जानुपनि ठूलो कुरा होईन । 
 
भोलि विहान उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी भैसकेको उनको भनाई छ । उनले भने,‘चितवनमा ३५ सय कोठा बुक भएका छन् । प्रतिनिधिहरु सबै पुगिसक्नुभएको छ । चारैवटा नाकाबाट हामी नारायणघाटमा जम्मा हुन्छौं । ११ गते नोमिनेशन हुन्छ । 
 
विधान महाधिवेशन सफल रुपमा सम्पन्न गर्यौं । अब पार्टीलाई सही तवरले अघि बढाउनको लागि नेतृत्व चयन गर्दैछौं । मलाई लाग्छ, नेतृत्व सर्वसम्मत् हुन्छ ।’
उनले यसपालिको महाधिवेशन एकताको महाधिवेशन  हुने पनि बताए । उनले भने,‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई साकार पार्नकोलागि पार्टी एक ढिक्का भएरअघि बढ्नेछ, हामीले एकता प्रदर्शन गर्नुपर्छ ।
 
यसपालिको महाधिवेशनमा म केन्द्रीय सदस्यको दाबेदार हो । २२५ जना सदस्यको केन्द्रीय कमिटी हुन्छ । त्यसमध्ये म पनि दाबेदार हो ।’
 
उनले २०३६ साालको आन्दोलनमा लागेको व्यक्ति भएको पनि स्मरण गराए । उनले भने,‘म बहुदल र निर्दलको चुनावको बेलामा पनि सक्रिय थिएँ, २०४९ सालमा काठमाडौंको १६ नम्बर वडामा अध्यक्ष भएँ । मैले धेरै वर्ष जनप्रतिधिधि भएर जनताको सेवा गरें । 
 
म २०५४ सालदेखि पार्टीको जिल्ला कमिटीमा छु । ०७७ मा केन्द्रीय कमिटीमा मनोनित भएँ । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद हुँ । २०७६÷०७७ सालमा सहरी विकास राज्यमन्त्री भएर काम गरेको छु ।’ निष्ठावान कार्यकर्ताहरुलाई आफूलाई मत दिएर जिताउन पनि उनले आह्वान गरेका छन् । 
 
उनले नेपालमा धेरै दलको आवश्यकत्ता नै नरहेको पनि जिकिर गरे । उनले भने,‘नेपालमा दुई दल भए पुग्छ नेपालमा । यो देशमा एमालेले मात्रै  समृद्धि र सुखी नेपालीको नारा साकार गर्नसक्छ, हाम्रो अध्यक्ष केपी ओली व्यक्ति होईन, विचार हो । ओलीलाई जनताले प्रत्यक्ष रुपमा चिन्नुभएको छ ।’
 
उनले आफ्नो पार्टीको अध्यक्ष ओली समृद्ध नेपाल बनाउने अभियानमा लागेको पनि सुनाए । उनले भने,‘७२ वर्षको कालखण्डमा, धेरै सरकार बने, धेरैजना प्रधानमन्त्री बन्नुभयो, तर हाम्रो अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभयो, उहाँको पालामा के–के काम भयो ? तपाईँहरुले हेर्नुहोला । 
 
उहाँले साँढे ३ वर्षको अवधिमा यो मुलुकको कायापलट गर्ने योजना अघि सार्नुभएको छ । ओलीको कार्यकालमा विकास निर्मँणसँग धेरै काम भएका छन् ।’
उनले पटक पटक महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुने विश्वास दिलाए । उनले भने,‘नेतृत्व चयनको लागि सहमतिको लागि भरपुर प्रयास हुन्छ । प्रयास गर्दापनि सहमति भएन भने प्रजातान्त्रिक विधिमा जानुपर्छ ।
 
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र केसीले पार्टीको १४औं महाअधिवेशनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने नेतृत्व चयन गर्ने बताएका छन् । 
 
उनले भने,‘मुलुकलाई दिशा दिनसक्ने र समृद्धिको दिशामा अघि बढाउने नेतृत्व आउनेमा हामी व्यग्र प्रतिक्षामा छौं । यो अधिवेशनले सवल नेतृत्व दिन सकोस ।’ उनले आफूले यसपटक केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने पनि सुनाए ।  
 
उनले अहिले एमाले, माओवादी केन्द्रको पनि अधिवेशन हुन गैरहेको भन्दै लोकतन्त्र बलियो बनाउनको लागि दलको अधिवेशन आवश्यक भएको सुनाए । 
 
उनले भने,‘अहिले सबै पार्टीको अधिवेशन हुँदैछ । सबै दलको चाहना भनेको मुलुकलाई  समृद्ध बनाउनु नै हो । बहुदलीय प्रजातन्त्रमा धेरै पार्टी रहन्छन् । दलहरुले जनतालाई आफ्नो नीतिअनुसार आकर्षित गर्ने कुरा स्वभाविक नै हो । एमाले, माओवादी र राप्रपाले अहिले महाधिवेशन गर्दैछन् ।’
 
उनले नीति र नेतृत्वसँगै जानुपर्नेमा पनि जोड दिए । उनले सबै दलको गन्तव्य एउटै भएको तर बाटो फरक हुनसक्ने सुनाए । 
 
नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले पार्टीमा अहिले अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको बताएका छन् । उनले पार्टी र देश दुवैको नेतृत्व गर्न प्रचण्डको नेतृत्व आवश्यक रहेको सुनाए । 
 
उनले भने,‘विपी कोइराला २५ देखि ३० वर्षसम्म पार्टी सभापति हुनुभयो । एउटा व्यक्तिले लामो समयसम्म नेतृत्व गर्नुहुन्न भन्नुहँदैन् । म दुई दशकदेखि केन्द्रीय सदस्य छु । अध्यक्ष भएको पनि प्रचड २१ वर्ष भयो । 
 
पार्टी र देशको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त हुनुहुन्छ । प्रचण्डलाई टक्कर दिने नेता माओवादीमा अहिले कोहीपनि हुनुहुन्न, भोलिका दिनमा आउनुभयो भने छलफल हुन्छ। तर प्रचण्डले सापेक्षिक रुपमा सही नेतृत्व गर्नुभएको छ । प्रचण्डको विकल्प पार्टीमा छैन् ।’
 
उनले आफ्नो पार्टी राष्ट्रिय सम्मेलनको तयारीमा अघि बढिसकेको सुनाए । उनले भने,‘हामी राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न गैरहेका छौं । यही मंसिर ४ गते एकै दिन वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । अब मंसिर ११ गते पालिकाको सम्मेलन हुँदैछ । संगठन, सम्पर्क मञ्चको पनि एकदैदिन सम्मेलन हुन्छ ।’
 
उनले आगामी पुष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गरिनेगरि अघि बढेको सुनाए । उनले भने,‘हामीले । माओ दिवस दिनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैछौं । समयको हिसाबले अझै एक महिना छ । 
 
पार्टीले तल्लो तहदेखि प्रचार गरिरहेको छ ।’ आफ्नो पार्टीको अधिवेशनको बारेमा त्यति चर्चा नहुनुको कारण सर्वसम्मत् रुपमा वडादेखि नै नेतृत्व चयन गरिनु नै भएको सुनाए । 
 
उनले कांग्रेसको महाधिवेशनको बढि चर्चा हुनुको कारण शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले गर्दा केन्द्रदेखि तलसम्म चुनाव भएकोले प्रतिष्पार्ध देखिएको सुनाए ।
 
उनले आफ्नो पार्टीले संविधानको मर्म र भावनाअनुसार कदम चालेको र निर्णय लिएको पनि सुनाए । उनले भने,‘हामी त नगरपालिकामा पनि महिला मेयर नै हुनुपर्छ भन्दैछौं । 
 
समाजको बनोटअनुसार पार्टी बनाउनुपर्छ । वडादेखि केन्द्रसम्म त्यहीअनुसार नेतृत्व बनाउनुपर्छ । ३५ प्रतिशत महिला हुनुपर्छ । २० प्रतिशत युवा हुनुपर्छ । विधान बनिसकेको छ ।’
 
उने यही मंसिर २५ गते प्रदेश सम्मेलन हुने र त्योपनि विधानअनुसार नेतृत्व आउने सुनाए। उनले एमालेको महाधिवेशनको कुरा गर्दा विचारको कुरा त्यहाँ नभएको आरोप लगाए । उनले भने,‘हामीले एमालेको दस्तावेज हेरेका छैनौं । अहिलेसम्म राजनीतिक दस्तावेज बाहिर आएको छैन् । 
 
आगामी कार्यक्रम के हो ? एक वर्षको के हो ? दश वर्षको के हो ? कार्यनीति र रणनीति के हो ? यो हामीले एमालेको दस्तावेज हेरेका छैनौं । यता कांग्रेसमा विचारको मतभेद छैन् । एमालेमा वैचारिक मतभेद देखिन्छ । घनश्याम भुषालले फरक मत ल्याएको देखेका छौं । पत्रपत्रिकामा देखेका छौं । तर, बाहिर आएको छैन् ।’
 
उनले एमालेको १०औं महाधिवेशनपछि पनि केपी शर्मा ओली नै अध्यक्ष हुने सुनाए । उनले भने,‘अहिले ओलीले नै चुनाव जित्नुहुन्छ । माधव नेपालहरु त्यहाँ भएको भए रामाईलो हुन्थ्यो । विचार लागु गर्ने नेतृत्व हुनुपर्दथ्यो । अहिले त्यहाँ वैचारिक बहस हुने सम्भावना देखिँदैन ।’
 
उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको र भोलिका दिनमा एकता हुनसक्ने सुनाए । उनले भने,‘हिजो विप्लव मोहन बैद्यसँग जानुभयो । वैचारिक बहसबाट उहाँहरु जानुभएको हो । उहाँहरु २ वर्षसम्म भूमिगत हुनुभयो । 
 
पुँजीवादी क्रान्ति पूरा भयो । पुँजीवादी क्रान्तिका केही कार्यभार बाँकी छ। शान्तिपूर्ण तवरले बाँकी कार्यभार पुरा गर्न सक्छौं । उहाँलाई जुन दिन शान्तिपूर्ण तरिकाले पुँजीवादी क्रान्तिका कार्यभार पूरा गर्न सक्छौं भन्ने लाग्छ, उहाँहरु आउनुभयो भने एकता हुन्छ ।’