कोरोनाको नयाँ भेरियन्टका केसहरु फेला परेपछि बेलायत प्रवेशमा थप कडाइ

मंसिर १४,२०७८

-आस्था न्यूज

मङ्सिर १४, २०७८ काठमाडौं।
साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ । नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैलाई पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गरेका थिए ।
 
सरकारले आइतबार एक सूचना जारी गर्दै नोभेम्बर ३० तारिख बिहान ४ बजेपछि बेलायत भित्रिने सबै यात्रुहरुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने बताएको छ ।
 
पिसीआर टेष्ट बुक नगरि आएका यात्रुलाई तत्कालै एक हजार पाउण्ड जरिवाना गरिनेछ । यसअघि बेलायत भित्रिने यात्रुहरुले दोस्रो दिनमा सामान्य ल्याटरल फ्लो टेष्ट मात्र गरे पुग्नेमा कोभिडको नयाँ भेरियन्ट फेला परेपछि पिसिआर टेस्ट अनिवार्य गरिएको हो ।
 
यदि परीक्षणको नतिजा पोजेटिभ भेटिएमा नेगेटिभ नतिजा नआएसम्म आइसोलेसनमा बस्न पर्नेछ । तर, यसअघि भने पोजिटिभ नतिजा आएपनि १० दिन आइसोलेसनमा बसेपछि टेष्ट नै नगरी बाहिर निस्कन पाइन्थ्यो ।
 
आजैबाट लागू हुनेगरी सार्वजनिक यातायात र पसलहरु, हेयरड्रेसर, बैंक तथा पोष्ट अफिसलगायतमा मास्क अनिवार्य गरिएको छ । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु थपिंदै गएपछि स्वास्थ्यमन्त्री साजिद जाभिदले मास्क लगाउन अनिवार्य गरेका हुन् ।
 
सरकारको नियम पालना नगरे एक सय देखि छ हजार चार सय पाउण्ड जरिवाना तिर्नुपर्नेछ । पहिलोपल्ट दुई सय पाउँद जरिवाना गरिनेछ तर, दुई हप्ताभित्र भुक्तानी गरेमा एक सय पाउण्ड मात्र तिरे पुग्छ । लगातार नियमको अवज्ञा गरेको पाइएमा प्रत्येक पटक जरिवाना डब्लिदै बढीमा छ हजार दुइ सयसम्म पुग्नेछ । पब, रेष्टुरेन्ट, सिनेमा, थिएटर जस्ता स्थानमा भने मास्क अनिवार्य छैन ।
 
नयाँ भेरियन्ट ‘ओमिक्रन’ फेला परेलगत्तै सरकारले दश वटा अफ्रिकन मुलुकलाई यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा राखेको छ । रेड लिष्टमा परेका मुलुकहरुमा एंगोला,बोत्स्वाना,इस्वाटिनी,लेसोठो,मलावी, मोजाम्बिक, नामिबिया, साउथ अफ्रिका, जाम्बिया र जिम्बावे पर्दछन् ।
 
उक्त मुलुकबाट बेलायत आउने यात्रुले ११ रातको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ भने, सोबापत लाग्ने खर्च दुई हजार २८५ पाउन्डसमेत स्वयमले व्यहोर्नु पर्नेछ । आइसोलेसन नियम उलंघन गरेको पाइएमा पाँच सय पाउण्ड देखि दश हजार पाउण्ड सम्म जरिवाना गरिनेछ ।
 
सरकारले संक्रमण नियन्त्रण प्रयासमा कोभिड खोपको तेस्रो मात्रा ‘बुस्टर’ पनि अब झन् ठूलो जनसंख्यालाई बाँड्ने तयारी थालेको छ । दोस्रो डोज लगाएको छ महिना भएको हुनुपर्ने यस अघिको नियमको सट्टा अब तीन महिना कायम गरिएको छ ।