सर्वोच्चमा कायममुकायमको विवाद टर्‍यो, जबरा शुक्रबार डिस्चार्ज हुने

मंसिर १६,२०७८

-आस्था न्यूज

मंसिर १६, २०७८ काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने जानकारी गराएपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुंगिएको छ । बिहीबार पेसी नतोकी सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा बसेका थिए ।
 
बैठकबाटै न्यायाधीश हरिकृष्ण कार्कीले सबै न्यायाधीशको तर्फबाट प्रधानन्यायाधीश जबरालाई टेलिफोन गरेका थिए । कुराकानीमा प्रधानन्यायाधीशले शुक्रबार आफू डिस्चार्ज हुने जानकारी गराएका थिए । 
प्रधानन्यायाधीश जबरा डिस्चार्ज भए बालुवाटारस्थित सरकारी आवासबाटै प्रशासनिक कामकारबाही गर्न सक्नेछन् । यदि शुक्रबार प्रधानन्यायाधीश डिस्चार्ज नभए फेरि बैठक बसेर के गर्ने भन्नेबारे निर्णय गरिने सर्वोच्चका एक न्यायाधीशले जानकारी दिए ।
 
बुधबार कानुन व्यवसायीले कायममुकायम प्रधानन्यायाधीशबारे प्रश्न उठाएपछि इजलास प्रभावित भएको थियो । बिहीबार पनि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेपछि पेसी तोक्न ढिलाइ भएको थियो । बिहीबार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकलसहित १० वटा इजलास तोकिएको छ । बिहीबार न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्नेछन् ।
 
नेपाल एपीएफ अस्पतालले सोमबार भर्ना भएका प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ । उनलाई कोभिड निमोनियासमेत देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना गरेर उपचार सुरु गरेको थियो ।
 
सर्वोच्च अदालत स्थापना भएयता नै प्रधानन्यायाधीशले निरन्तर उपभोग गर्दै आएको ‘पेसी तोक्ने अधिकार’ लाई बदलेर पहिलो पटक बुधबार गोला प्रक्रियाद्वारा इजलास गठन गरिएको थियो ।
 
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनले तोकेको इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू ३८ औं दिनपछि बुधबार गोला तानेर इजलास तोकी नियमित सुनुवाइमा फर्किएका थिए ।
 
अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबराले न्याय प्रशासन सञ्चालन गर्न नमिल्ने र सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पनि नदिएको भन्दै कानुन व्यवसायीले विरोध गरेपछि न्यायाधीशहरू मुद्दा सुन्दासुन्दै इजलासबाट उठेर छलफलमा बसेका थिए ।