राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने एमाले अध्यक्ष ओलीको भनाई

पौष २३,२०७८

-आस्था न्यूज

पुस २३, २०७८ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताएका छन् । तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनको दाबी छ ।
 
शुक्रबार देशभरका ६३ जिल्लाको अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने बताए । चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँट गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको उनले बताए ।
 
ओलीले अघि भने, ‘अहिले पनि एक्लै हामी मजबुत छौं । तर ५० प्रतिशत चाहिने अवस्थामा सम्पूर्ण शक्ति मिलेर प्रतिकुल परिस्थिति आउनसक्छ । सकारात्मक परिणाम आएन भने अनौठो मान्न जरुरी छैन किनकी यो आजको जनादेश होइन ।’
 
यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनले बताए । ओलीले अघि भने, ‘जो जति कमजोर छ, उसले त्यति चर्कोसँग गठबन्धन भनेर कराइरहेको छ । एमालेलाई गठबन्धन चाहिएको छैन, हामी एक्लै लड्न सक्छौं ।’
 
राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।