राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्नेमा जोड

पौष २५,२०७८

-अस्था न्यूज

पुस २५, २०७८ काठमाडौं ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् ।

अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पारे ।

राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे ।

अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरुले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए । ‘अहिलेको नेपालमा विकास र समृद्धिको जुन कुराहरु छन्। त्यो भनेको कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउने र र अहिले पनि जुन निर्वाहमुखि कृषिको बाहुल्यता छ ।

उनले भने, मुलुकमा विकास र समृद्धि ल्याउने हो भने गफ हाँकेर होईन, गुड्डी हाँकेर होइन । विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्छ । त्यसैले मुख्य कुरा भनेको राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भइराखेको छ ।’

अध्यक्ष भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।