भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई ओलीको आग्रह

पौष २५,२०७८

-अस्था न्यूज

पुस २५, २०७८ काठमाडौं ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।

झापाको भद्रपुर-१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आइतबार उद्घाटन गर्दै उनले भने, देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ ।

अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे । उनले भने, काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताए । उनले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र संवर्द्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रहसमेत गरे । नेपाल निजामति कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताए ।