काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा रामेछाप र कालीकोटका २ जनाको मृत्यु

पौष २६,२०७८

-आस्था न्यूज

पुस २६, २०७८ काठमाडौं । 
काठमाडौंका मिनभवन र बिजुलीबजारमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
 
मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ ।
 
उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
 
यसैगरी बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको मृत्यु भएको छ ।
 
बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरुसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा विपिनमा सडकमा निस्किएका थिए । त्यहीबेला विपिनलाई टिपरले ठक्कर दिएको र  सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरले जनाएको छ । 
 
ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।