मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण सफल !

पौष २७,२०७८

-आस्था न्यूज

पुस २७, २०७८ काठमाडौं ।
 
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।
 
समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न थियो ।
 
शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन् । बेनेटको जीवन बचाउन यो नै अन्तिम विकल्प रहेको बताइएको थियो । सुँगुरको मुटु प्रत्यारोपणपछि उनको आयु कति लम्बिन्छ भन्ने यकिन भएको छैन ।
 
शल्यक्रियाअघि बेनेटले भनेका थिए, गर वा मरको अवस्थामा प्रत्यारोपण गर्न लागेको हुँ । म बाँच्न चाहन्छु । यो एउटा अँध्यारोमा हानिएको गोलीजस्तै हो । मसँग अरु विकल्प छैन ।मेरिल्यान्ड युनिभर्सिटीले शल्यक्रियाका लागि अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए) सँग आकस्मिक अनुमति लिएको थियो ।
 
शल्यक्रियामा संलग्न चिकित्सक डाक्टर ब्राट्ली ग्रिफिथले चिकित्सा विज्ञानमा अभूतपूर्व सफलता प्राप्त भएको बताएका छन् । उनले भनेका छन्,यो अभूतपूर्व शल्यक्रिया हो । यसले मानव अंग प्रत्यारोपणमा देखिएको संकट समाधान हुन सक्छ । निकै सावधानीपूर्वक शल्यक्रिया सम्पन्न भएको र यसले भविष्यमा बिरामीको आयु लम्ब्याउन सहयोग पुग्ने पनि उनको भनाइ छ । अहिले पनि १ लाख १० हजारको हाराहारीमा अमेरिकामा अंग प्रत्यारोपणको पर्खाइमा रहेका छन् ।
 
अर्ग्यानडोनर डट जीओभीका अनुसार अमेरिकामा बर्सेनि ६ हजारभन्दा बढी अंग प्रत्यारोपणको पर्खाइमा रहेका व्यक्तिको मृत्यु हुने गर्छ । बेनेटमा भर्जिनियास्थित रिजेनेरेटिभ मेडिसिन कम्पनी रेभिभिकोरले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु उपलब्ध गराएको हो । चिकित्सकहरूका अनुसार सुँगुरको मुटु र मानिसको मुटुमा धेरै समानता हुनाले प्रत्यारोपण सफल भएको हो ।
 
सुँगुरका अन्य अंगहरू मिर्गौला, कलेजो र फोक्सो पनि मानिसमा प्रत्यारोपण गर्न सकिनेरनसकिनेबारे अनुसन्धान भइरहेको छ । यसअघि आनुवंशिक भिन्नताका कारण सुँगुरको मुटु प्रत्यारोपण सफल भएको थियो । यस पटक भने वैज्ञानिकहरूले हानिकारण जिनहरू सम्पादन गरेर हटाएका थिए । त्यसपछि मात्रै प्रत्यारोपण सफल भएको बताइएको छ ।
 
तस्बिरः रोयटर्स