प्रदेश १ मा पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न निर्देशन

पौष २९,२०७८

-आस्था न्यूज

पुस २९, २०७८ काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाँच दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन दिएका छन् ।
 
विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरको ७५ प्रतिशत काम पूरा भइसकेको छ । कोरोना संक्रमति बढ्दै गएपछि मुख्यन्त्री राईले बिहीबार नाका तथा होल्डिङ सेन्टर अनुगमन गर्दै पाँच दिनभित्र सक्न निर्देशन दिएका हुन् ।
 
नेपाली सेनाले दुई महिनाभित्र बनाइ सक्ने बताएपछि मुख्यमन्त्री राईले एक साताभित्र दुई सय जना मात्रै अट्ने भए पनि तयार गर्न निर्देशन दिएका हुन् । तर, नेपाली सेनामार्फत काम गरिरहेको हनुमान कन्स्ट्रक्सन कम्पनीले एक सय जना अट्ने होल्डिङ सेन्टर बनाउन पाँच दिन र दुई सय जना अट्ने बनाउन दुई साता लाग्ने बताएको थियो ।
 
संघीय सरकारले रकम निकासामा ढिला गरेकाले होल्डिङ सेन्टर निर्माण ढिला भएको नेपाली सेनाले जनाएको छ । बत्ती तथा पानीको व्यवस्था गरिदिन समेत सेनाले मुख्यमन्त्रीसँग आग्रह गरेको छ । पानीबत्ती तथा जनशक्ति भए पाँच दिनमा होल्डिङ सेन्टर तयार गर्ने प्रतिबद्धता जनाएको छ ।
 
अहिले सीमा नाकामा कोरोना पोजेटिभ रिपोर्ट आएकाहरूलाई नेपालतर्फका भए परिवारको जिम्मा लगाएर मात्रै छाड्ने गरिएको छ । अनुगमनाका क्रममा मुख्यमन्त्री राईले रानी नाकामा कडा गर्न समेत प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई निर्देशन दिएका छन् ।
 
प्रमुख जिल्ला अधकारी दाहालले पनि भारतबाट आउनेसँग मात्रै नभई नेपालबाट भारततर्फ जानेको पनि खोप कार्ड अनिवार्य गर्ने बताएका छन् । आउनेबाट मात्रै होइन जानेमा पनि जोखिम बढेकाले नियन्त्रण गर्न दुर्वतर्फ खोप कार्ड अनिवार्य गर्ने उनको बताए ।
 
कोरोना नियन्त्रणमा प्रदेश सरकारको तयारी फितलो भएको भनेर विरोध हुन थालेपछि मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोली लिएर उनी सो क्षेत्रमा पुगेका हुन् ।
 
सयमै होल्डिङ सेन्टर तयार नहुँदा नाकामा परीक्षण गरिएका व्यक्तिहरू जतासुकै हिड्ने गरेका छन् । पोजेटिभ रिपोर्ट आएकाहरू पनि परिवार नआएसम्म सडक किनारमै बस्ने गरेका छन् ।