संविधान र व्यवस्था बचाउनको लागि यो सरकार सफल भयोः सोम पाण्डे

पौष २९,२०७८

-आस्था न्यूज

पुस २९, २०७८ काठमाडौं ।
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । 
 
उनले भने,‘पहिलो कुरा त संविधान बचाउनको लागि यो सरकार र पाँच दलीय गठबन्धन सफल भयो । बलिदानीपूर्ण संघर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार ससफल भएको छ, यो कुरा दुनियाँलाई थाहा छ ।
 
यो गठबन्धन बाध्यतावश बनेको हो । संविधान नै समाप्त हुने अवस्थामा, व्यवस्थापनि के हुने हो भनेर मान्छेले चिन्ता गर्ने अवस्थामा, त्यो बचाउनको लागि यो गठबन्धन बनेको हो । यो कुरा सबै जनतालाई थाहा छ ।’
 
बिहिबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले पाँच दलीय गठबन्धन बन्नु बाध्यता रहेको पनि उल्लेख गरे ।
 
उनले भने,‘यो सरकार आएपछि संविधान बचेको छ । दुई तिहाई प्राप्त नेकपाको सरकार बहिर्गमन भयो । संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरियो । प्रदेश सरकार छिन्नभिन्न र लथालिङ भयो । कसको कारण यो हुन गयो ? यो कुरा छर्लङ भएको छ, म नाम लिन चाहन्नँ । मुख्य कुरा त देशको बागडोर सम्हाल्नेले नै यो सबै बिगारे ।’
 
उनले अहिले सदनमा अवरोध कायम रहेकोबारे पनि आक्रोश पोखे । पाण्डेले भने–‘बिना ईस्युमा सदन अवरोध छ । बालहठको लागि एमालेले अवरोध गर्यो । संवैधानिक व्यवस्था बचाउने काम यो सरकारले गरेको छ । संसद् अवरोध गरेर कसैले जितेको छैन् । संसद् खुल्नुपर्छ ।’
 
माधव नेपालगायत १४ जना सांसदको कारबाहीको विषय उठाएर एमालेले बालहठ देखाएको पनि उनको आरोप छ । उक्त विषय अहिले अदालतमा रहेको सुनाउँदै उनले एमालेले यो विषयमा संसद् अवरोध गर्नु गलत रहेको टिप्प्णी गरे ।