कोरोना सङ्क्रमण दर बढेसँगै सीमा नाकामा उच्च सतर्कता

पौष ३०,२०७८

-आस्था न्यूज

पुस ३०, २०७८ काठमाडौं ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ ।
 
प्रदेश २ का महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र नेपालगञ्जको जमुनाहा नाकामा हेल्प डेस्कमार्फत एन्टिजेन परीक्षण थालिएको छ ।
 
होल्डिङ सेन्टरको अनुगमन
प्रदेश १ को जोगबनीस्थित हेल्प डेस्कले दिएको जानकारीअनुसार पुस महिनामा भारतबाट आएका दुई हजार ३९ जनाको कोरोना परीक्षण गर्दा ५९ जनामा पोजेटिभ पाइएको थियो । त्यसपछि भारतसँगका सीमा नाकाहरू पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर र विराटनगरको जोगबनी नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा गरिएको छ । त्यस्तै, चीनतर्फका ओलाङ्चुङगोला र किमाथाङ्का नाका बन्द अवस्थामा छन् । 
 
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोलीले बिहीबार विराटनगर–१६ स्थित निर्माणाधीन होल्डिङ सेन्टर र जोगबनी नाकाको स्वास्थ्य सुरक्षा र परीक्षणको अवस्था अनुगमन गरेको थियो ।
 
यसैगरी, सुदूरपश्चिम प्रदेशका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । भारतमा कोरोना सङ्क्रमण बढेपछि सो नाका हुँदै पछिल्ला आठ दिनमा ९पुस २१ देखि २८ गतेसम्म० ११ हजार ३१६ जना नेपाल भित्रिएका छन् । उनीहरूमा गरिएको कोरोना परीक्षणमा ६९८ जनामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना पोजेटिभ पाइएपछि स्वास्थ्य जाँचलाई थप कडा पारिएको जनाइएको छ ।
 
बुधबार चारवटै नाकाबाट एक हजार ४८३ जना फर्किएकोमा नाकामै सबैको परीक्षण गरिएको थियो । यद्यपि बागमती प्रदेशको भारतसँग एक मात्र सीमा नाका त्रिवेणीमा कुनै स्वास्थ्य सुरक्षा जाँचको व्यवस्था गरिएको छैन । भारतसँग सीमा नाका जोडिएको नभए पनि रोजगारीका लागि भारत जानेको सङ्ख्या कर्णाली प्रदेशबाट बढी छ । त्यसैले कर्णाली प्रदेशले समेत कर्णाली प्रवेशको मुख्य नाका सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबई र पञ्चपुरी नगरपालिकाको कुइने तथा सल्यानको कालीमाटी नाकामा स्वास्थ्यकर्मी परिचालनको तयारी थालेको छ । कुइने र कालीमाटीमा होल्डिङ सेन्टर निर्माण गरिएको भए पनि हाल सञ्चालनमा छैन ।