साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न चेतावनी

पौष ३०,२०७८

-आस्था न्यूज

पुस ३०, २०७८ काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न चेतावनी दिएकी छन् ।  आफ्नै छापाखाना, देशभर फैलिएको बिक्री कक्ष, अनुभवी कर्मचारी हुँदाहुँदै पनि साझा प्रकाशन कमजोर हुँदै गएकोमा आपत्ति जनाउँदै मन्त्री श्रेष्ठले अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न त्यसको सञ्चालक समितिलाई चेतावनी दिएकी हुन् ।
 
शुक्रबार ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनको भवनमा आयोजित साधारणसभामा बोल्दै उनले साझा प्रकाशनलाई सफलतातर्फ डोर्याउन सकिने तर त्यसका लागि त्यहाँको सञ्चालक समिति र कर्मचारी इमान्दार तथा मेहनती हुनुपर्ने स्पष्ट पारिन् ।
 
मन्त्री श्रेष्ठले साझा प्रकाशनजस्तो गौरवशाली इतिहास भएको साहित्यिक संस्थालाई अघि बढाउन सञ्चालन समितिमा रहेकाहरु आर्थिक रुपले अनुशासित हुनुपर्ने पनि औंल्याइन् ।
 
उनले भनिन्, ‘विगत सय वर्षदेखि नेपाली साहित्य, संस्कृति तथा पाठ्यपुस्तक निर्माणलगायत उत्पादन, प्रकाशन, वितरण तथा प्रवद्र्धन समेतमा नेतृत्वदायी तथा गौरवपूर्ण कार्य गरी उत्कृष्ट छाप छोडेको संस्था पछिल्लो समय क्रमशः कमजोर भइरहेको देखिन्छ । आफ्नै छापाखाना, देशभर फैलिएका बिक्री कक्षहरु तथा अनुभवी कर्मचारीहरुको उपस्थितिका बाबजुद पनि बदलिँदो परिवेशमा प्रतिस्पर्धा तथा कुशल व्यवस्थापनमा ध्यान जान नसक्नु विडम्बनापूर्ण छ । 
 
यो अवस्था कसरी सृजना भयो? यसको कारक तत्व के हो ? यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को हो? यसको पनि लेखाजोखा हुन जरुरी छ भन्ने मलाई लाग्दछ ।’
 
मन्त्री श्रेष्ठले कर्मचारीहरुलाई लक्षित गर्दै भनिन्, ‘म मात्रै तपाईहरुलाई एउटा कुरा राख्न चाहन्छु–कोही पनि मान्छेलाई ज्वरो आउँदाखेरी ज्वरोको औषधि सिटामोल खाने अथवा पानीपट्टि दिएर पुग्दैन । त्यो ज्वरो किन आयो ? भन्ने खालको यदि हामीले खोजी गर्न सकेनौ भने त्यो क्रोनिक भएर भोलि मृत्यु शैयामा समेत पुग्नुपर्ने स्थिति हुन्छ । त्यो चिजको खोजी होस् भन्ने म चाहन्छु । त्यसमा मेरो सम्पूर्ण साथ र समर्थन यहाँहरुलाई रहनेछ भन्ने कुरा पनि राख्न चाहन्छु ।
 
यति हुँदाहुँदै पनि कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं यस संस्थाको अचल सम्पत्ति, राजधानीभित्र/बाहिर रहेका भवन, बिक्री केन्द्र, कार्यरत अनुभवी कर्मचारी, साहित्यिक क्षेत्रमा स्थापित छविको प्रयोग गरी अझै पनि व्यवस्थित कार्ययोजना, आर्थिक अनुशासन, पारदर्शी कार्यशैली, दुरुस्त अभिलेख व्यवस्थापन आदिको माध्यामबाट सफलता र उन्नतीको सिँढी चढ्न नसकिने होइन । अझै पनि यो दिशामा अगाडि जान सक्छौं भन्ने नै मलाई विश्वास लागेको छ ।’ 
 
मन्त्री श्रेष्ठले साझा प्रकाशन कमजोर हुनुको कारणबारे खोजी गरेर मात्रै त्यसको सफलताका लागि अघि बढने सकिने धारणा राखिन् ।