रसुवामा बालबालिकाले खोप नलगाएपछि फिर्ता

पौष ३०,२०७८

-आस्था न्यूज

पुस ३०, २०७८ काठमाडौं ।
 
रसुवामा बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको करिब १५ सय डोज मोडर्ना खोप फिर्ता पठाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ल्याइएको खोपमध्ये १४ सय ९० डोज स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको हो । 
 
गत ११ देखि १८ पुससम्म जिल्लाको पाँचवटै गाउँपालिकाको ४३ वटा माध्यमिक तहका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । तर तोकिएको लक्ष्यअनुसार प्राप्त तथ्यांकका बालबालिकाले खोप लगाउन नआउँदा खोप फिर्ता गर्नुपरेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।
 
पुस ११ देखि १३ गतेसम्म खोप अभियान रहेको थियो, हामीले पाँच दिन थप गरेर १८ गतेसम्म खोप अभियान सञ्चालन गर्‍यौं, विवरणअनुसार पाँचवटै गाउँपालिकाका सबै बालबालिका खोप लगाउन आएनन्,’ उनले भने ।
 
गत बुधबार बाँकी रहेका सबै खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको उनले बताए ।