राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक, संघीयता खारेजी प्रमुख एजेण्डा

चैत्र ३०,२०७८

-आस्था न्यूज

चैत्र ३०, २०७८ काठमाडौं ।
राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।
 
बुधबार बुटवलमा आयोजित एक समारोहबीच अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन्।
 
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलमा आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालमा संघीय शासन प्रणाली छोटो अभ्यासबाटै असफल भएको पुष्टि भइसकेको बताए।
 
केसीले संघीयताका कारण नेपालमाथि दिनप्रतिदिन आर्थिक बोझ थपिँदै गएकोले संघीयता खारेजी आफ्नो पार्टीको प्रमुख एजेण्डा भएको बताए।
 
संघीयताकै कारण २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिमाथि र नेपालको कम्युनिष्ट आन्दोलनमाथि नै खतरा रहेको औंल्याउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर अहिलेको संघीयता खारेजी गर्नुपर्ने बताए।
 
स्थानीय तह नै जनताका समस्या, सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।