नो लालपुर्जा नो भोट भन्दै सुकुम्बासीको नारा चर्कियो

बैशाख ०१,२०७९

-आस्था न्यूज

वैशाख १, २०७९ काठमाडौं ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुकुम्बासी मतदाता बढी भएका क्षेत्रमा ‘नो लालपुर्जा नो भोट’ को नारा चर्किन थालेको छ । राजनीतिक दल र उम्मेदवारले भोट तान्न घोषणापत्रमार्फत लालपुर्जाको आश्वासन दिनुअघि नै सुकुम्बासीको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले लालपुर्जा नपाए भोट पनि नदिने स्पष्ट पारिसकेको छ ।
 
समाजले उम्मेदवारलाई दबाब दिएर चुनावअघि नै लालपुर्जा प्राप्त गर्ने अभियान नै चलाएको समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बताए । उनका अनुसार कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७ सय ३० जना रहेकामा ४० लाख जना लालपुर्जाविहीन सुकुम्बासी छन् ।
 
‘स्थानीय तहमा सुकुम्बासी मतदाताको भोट निर्णायक हुन्छ, यसैलाई बुझेर हामीले यस पटक पहिले लालपुर्जा त्यसपछि मात्र भोटको कुरा उठाएका हौं,’ उनले भने । सुकुम्बासीलाई आवास र घरको व्यवस्था गर्ने विषय हरेक चुनावको मुखमा उठ्ने गरेको छ । तर, दीर्घकालीन समाधान भने हुन सकेको छैन । सुकुम्बासी समस्या समाधान गर्न २०१३ सालयता विभिन्न नाममा २४ वटा आयोग बनिसकेका छन् ।
 
अहिले राष्ट्रिय भूमि आयोग क्रियाशील छ । तर, यी सबै आयोगले सुकुम्बासीमाझ भ्रम छरेर राजनीतिक अभीष्ट पूरा गर्नेबाहेक केही पनि नगरेकाले अब उधारो आश्वासनका आधारमा भोट नदिने निष्कर्षमा पुगेको उनको भनाइ छ । ‘२०४६ सालयता मात्र २९ जना प्रधानमन्त्री नेपालले पाएको छ । तर, २९ जना सुकुम्बासीले पनि लालपुर्जा पाएका छैनन्,’ उनले भने, ‘यसपल्ट आजित भएर नो लालपुर्जा नो भोट अभियान नै थालेका हौं ।’
 
नीति निर्माण तहमा पुगेका नेता–मन्त्रीहरूले सुकुम्बासी समस्या समाधान गर्नेतिर कहिलै ध्यान नदिएको उनको आरोप छ । कान्तिपुरबाट