पिडितको आत्मसम्मानका लागि यौनजन्य हिंसामा परेकालाई राज्यकोषबाट क्षतिपूर्ति दिनुपर्ने

आषाढ ०९,२०७९

-आस्था न्युज

 

९ असार, काठमाडौं । संसदले बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्यको कोषबाट दिने व्यवस्था गर्नु पर्ने भन्दै बहस सुरु भएको छ । संसदको कानून,  न्याय तथा मानवअधिकार समितिका सदस्यहरुले समितिको बैठकमा सदस्यहरुले बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्यको कोषबाट दिने व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।

 

बैठकमा सदस्यहरुले पीडकलाई कारबाही र जरिवाना गरेपछि जरिवानाको रकम पीडितलाई दिदा पिडितको आत्मसम्मानमा आँच पुग्ने हुदा क्षतिपूर्ती रकम राज्यको कोषबाट दिने व्यवस्था गर्नु पर्ने बताएका छन् ।

 

बैठकमा सभापति कृष्णभक्त पोखरेल जरिवानाको पैसा पीडितलाई दिँदा पीडकले मेरो पैसा खाएकी छे, त्यही पैसाले घर बनाएकी छे, जग्गा लिएकी छे भन्ने प्रवृत्ति देखिएको बताए । उनले भने, ‘यसबारेमा अर्थ मन्त्रालयसँग पनि छलफल गरेर पीडितलाई राज्यकोषबाटै क्षतिपूर्ति दिने व्यवस्थाका लागि पहल गर्नुपर्छ ।

 

समिति सदस्य बिन्दा पाण्डले पीडित महिला तथा बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा राज्यले लिनुपर्ने बताइन् । उनले पीडकलाई भविष्यमा पनि कुनै सार्वजनिक पदमा रहन अयोग्य हुने व्यवस्था गर्नु पर्ने बताइन् ।