नागरिक लगानी कोषले ५१ करोड १२ लाख बराबरको प्रतिफल रकम उपलब्ध गराउने

आषाढ २८,२०७९

-आस्था न्यूज

असार २८, २०७९ काठमाडौं ।
 
नागरिक लगानी कोषले ५१ करोड १२ लाख बराबरको प्रतिफल रकम विभिन्न शीर्षकमा उपलब्ध गराउने भएको छ । 
 
कोषका अनुसार ४० करोड ५० लाख उपदान कार्यक्रममार्फत र लगानीकर्ता कार्यक्रममार्फत १० करोड ६२ लाख उपलब्ध गराइनेछ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा प्रतिफल राख्ने र त्यस्तो खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ ।
 
कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने व्याजदरमा वृद्धि गरिएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ ।
 
यसअघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढी सहभागीलाई २०७७ असारसम्मको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ ।