राष्ट्रिय सभामा एम.अधिकारीको खोजीः अर्थ मन्त्रालय र राष्ट्र बैंकका गभर्नरको विषयले एमाले र माओवादीको जुहारी

श्रावण ०४,२०७९

-आस्था न्यूज

साउन ४, २०७९ काठमाडौं ।
 
संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा एमाले र माओवादी सांसदबीच विवाद चलेको छ । अर्थमन्त्रालयसँगको विवाद र पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नरसँग सम्बन्धित विवादलाई लिएर एमाले र माओवादीका सांसदबीच जुहारी नै चलेको हो ।
 
 
माओवादी सांसदहरूले एमालेको अर्थ विभागमा बसेका एम( अधिकारी को हो? भनेर प्रश्न गर्दा एमाले सांसदले भने अर्थमन्त्रालयको सीसीटीभी र अर्थ सचिव मधु मरासिनीको आलोचना गरेका थिए । अर्थसचिवलाई कसले तर्साइरहेको हो भन्ने एमाले सांसदको प्रश्न थियो ।
 
 
राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा माओवादी सांसद सुरेश आले मगरले एमालेको अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारीको पहिचान खुलाउनुपर्ने बताएका थिए । एम‍‍‍‍ अधिकारीबारे घरघरमा प्रश्न र आशंका उब्जिरहँदा एमालेले त्यो व्यक्तिलाई किन नदेखाएको भनेर उनले प्रश्न गरेका थिए ।
 
उनले एम. अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको पनि बताए । एम. अधिकारी खोटाङ नाम र ठाउँको चर्चा बढिरहेको छ । मलाई लाग्छ आज घर(घरकी कहानी जस्तो भएको छ । यो रहस्यमय पनि बनेको छ । एमालेमा कुनै मान्छे लाग्न पाउँछ कि पाउँदैन भन्दा लाग्न पाउँछ । गभर्नर हुन योग्यता क्षमताको आधारमा पाउँछ तर एउटै व्यक्ति दुईतिर हुन पाउँदैन, उनले भने, एम. अधिकारी भन्ने व्यक्ति को हो ? हामी जान्न चाहन्छौं, नेपाली जनता जान्न चाहन्छन् । नेकपा (एमाले) ले यसबारे स्पष्ट पारिदिनुभए राम्रो हुन्थ्यो । उनले एउटै व्यक्ति राष्ट्र बैंकको गभर्नर र एमालेको अर्थ तथा योजना विभागमा बस्न नपाउने बताए ।
 
विशेष समयमा भने एमाले सांसद विमला राई पौड्यालले अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एकपछि अर्को प्रश्न गरिन् । उनले रक्षा र अर्थमन्त्रालयको बारेमा प्रधानमन्त्रीबाट जवाफ आश गरेकी थिइन् । त्यसपछि उनले अर्थ सचिव मधु मरासिनीमाथि शंका व्यक्त गरिन् ।
 
दबाबसामु अर्थका अधिकारीको समर्पण
अर्थमन्त्रालयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको विषय लक्षित गर्दै सांसद विमला राई पौड्यालले प्रश्न गरेकी थिइन् । माओवादी सांसदले उठाएको एम‍‌‌‌‌‍‍‍‍‍‍‍. अधिकारीको विषयमा एक शब्द नबोलेकी उनले अर्थ सचिव मरासिनीले संसदीय छानबिन विशेष समितिमा गरेको प्रस्तुतिलाई लिएर प्रश्न गरेकी थिइन् । त्यस क्रममा उनले माओवादीप्रति गम्भीर आरोप पनि लगाएकी थिइन् । मैले अर्थ मन्त्रालयको सुशासनको विषय उठाउन खोजेको सचिव डराउँछन् । संसदीय समितिसँग बोल्न सकेनन् रे ! आँशु आयो रे ! कतिपय बेलासम्म प्रश्न गर्न सकिएन रे ! उनले माओवादीले अर्थ सचिवलाई तर्साएको हो कि भन्ने आशयसहित प्रश्न गरिन्, जनयुद्धको धङधङी गएको छैन ? किन डराएका सचिव ? किन सचिव विदामा बसेको, यो मन्त्रीसँग काम गर्न सक्दैन भनेर विदामा जाने । मन्त्रीले राजीनामा गरेको भोलिपल्ट फर्किने ? उनले ३ महिनाका लागि राख्नुपर्ने सीसीटीभी फुटेज किन मेटाइएको भनेर प्रश्न गर्दै त्यसो गर्ने अर्थमन्त्रालयका कर्मचारीलाई के कारबाही भयो भनेर पनि प्रश्न गरेकी थिइन् ।
 
सांसद पौडेलले भारतीय टीभीमा नेपाल आर्थिक रूपमा अर्को श्रीलंका बनिरहेको भन्ने समाचार सामग्री हेरेपछि आफूलाई चिन्ता लागेको बताइन् । उनले सरकारले सबै ठिक छ भनेपनि अर्थतन्त्रका सूचकांकले त्यो संकेत नगरेको बताइन् ।
 
पौडेलपछि बोलेका माओवादी सांसद मायाप्रसाद शर्माले पनि एम‍. अधिकारी को हुन् भनेर स्पष्ट पार्नुपर्ने बताए । अहिले चर्चामा आएका एम. अधिकारी को हुन् ? गभर्नर नै हुन् भनेर ठान्नुभएन । तिनी कहाँ बस्छन् ? के गर्छन् ? अर्थ विभागमा बसेको सही नै होला त्यो चासको विषय भएन? उनले प्रश्न गरे, एम. अधिकारी र महाप्रसाद अधिकारी एउटै बाबुका, एउटै उमेर भएका, एउटै बेला जन्मिएका छोरा हुन् या होइनन् त्यो चासोको कुरा बनेको छ । त्यसो हो र ती गभर्नर हुन् भने स्पष्ट पार्नुपर्‍यो । त्यसो हो भने तत्काल गभर्नरले राजीनामा दिनुपर्छ ।
 
एमाले सांसद भैरवसुन्दर श्रेष्ठले भने एम. अधिकारी र महाप्रसाद अधिकारीको विषयमा एमाले केन्द्रीय कार्यालय, एमालेको अर्थ तथा योजना विभागले बोलिसकेपछि बारम्बार उठाउनु ठिक नभएको बताएका थिए ।