लोक स्रष्टा कल्याण शेरचनको जन्मत्सोवमा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता हुने

श्रावण ०५,२०७९

-आस्था न्यूज

 साउन ५,२०७९ काठमाडौं ।

पोखरामा सबैभन्दा ठुलो पुरस्कार राशिको राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता हुने भएको छ ।
 
लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६औं जन्मजयन्तीका अवसरमा खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम २०७९ हुने भएको हो । 
 
कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दोहोरीगीत प्रतियोगिता यही साउन १२ देखी १४ गतेसम्म हुने प्रतिष्ठानका सचिव जिवन दाहालले जानकारी दिनुभयो ।
 
शेरचनको यही साउन १२ गतेको जन्मजयन्तीका अवसरमा नेपालमा नै पहिलो नेपाली लोक बाजाहरुको संग्रहालय गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी त्यसको संरक्षण तथा संम्बद्र्धन गर्ने र उनको प्रतिमा निर्माण गर्ने उद्देश्यले खुल्ला दोहोरीगीत प्रतियोगिता एंव स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
 
पोखराको सभागृहमा हुने दोहोरीगीत प्रतियोगितामा ४० देखी ४५ समुहको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा सहभागी हुनका लागि एक कायक र एक गायिका गरी दुई दुई जनाको समुह रहने र सहभागिताका लागि दुई हजार रुपैया दर्ता शुल्क लाग्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
 
प्रतियोगितामा प्रथम हुने समुहलाई छ लाख रुपैयाँ राशिको नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । त्यस्तै द्धितीय हुने समुहलाई चार लाख, तृतीय हुने समुहलाई दुई लाख र सान्तोना हुने समुहलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पनि सचिव दाहालले जानकारी दिनुभयो । यसैगरी प्रतियोगितामा उत्कृष्ट गायकलाई ५० हजार, उत्कृष्ट गायिकालाई ५० हजार र अनुशासित समुहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि उहाले जानकारी दिनुभयो । 
 
प्रतियोगिताका लागि निर्णायक मण्डलको टुंगो लगाउन बाकि रहेको छ । त्यसका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रको संयोजकत्वमा निर्णायक मण्डलको छनौट गरिने जनाएको छ । यही साउन ९ गते बस्ने दोहोरीगीत प्रतिष्ठान नेपालको बैठकले निर्णायक मण्डलको टुंगो लगाउने र १० गते पोखरामा पत्रकार सम्मेन गरी कार्यक्रमबारे सम्पूर्ण जानकारी प्रदान गरिने भएको छ । 
 
कार्यक्रमका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द, मातहतका प्रदेश र जिल्ला शाखाहरु, इन्द्रेणी साँस्कृतिक समाज काठमाडौं र हिमाली साँस्कृतिक परिवार पोखराको सहकार्य रहने कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर गुरुङ (ह्योल्मो) ले जानकारी दिनुभयो । कार्यक्रमको प्रवद्र्धन पोखरा महानगरपालिकाले गर्ने छ ।
 
लोक स्रष्टा एंव सर्जक शेरचनका सोह्र वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र....., आहा कलिलो तामालाई सोध रामलाई....., ऐ भेना यो साल, ल्याइदेउ मलाई पछ्यौरी मलमल... लगाएतका दर्जनौं कालजयी गितहरु अहिलेपनि जनमानसमा उत्तिकै कर्णप्रिय छाप छोड्न सफल भएका छन् ।
 
वि.सं. २००३ साल साउन १२ गते पोखराको रानीपौवामा जन्मनुभएका शेरचनको वि.सं. २०६७ साल माघ २४ गते निधन भएको थियो । उनलाई स्रष्टा, सर्जक र सांगिितक अभियान्ता मात्र नभई एक समाजसेवीका रुपमा समेत चिन्ने गरिन्छ ।