Trending :
 

सक्रिय ध्यान विधि र यसको उपयोगिता

श्रावण १७,२०७९

यज्ञप्रसाद भट्टराई



यज्ञप्रसाद भट्टराई
महर्षि पतञ्जलीले प्रतिपादन गरेका योगका आठ अङग यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि मध्ये ध्यान अति महत्वपूर्ण अङग हो।जापानी शव्द झेन र चिनीया शब्द च्यान यि दुई शब्दबाट अपभ्रंश भएर बनेको शब्द ध्यान हो। अंग्रेजीमा ध्यानलाई मेडिटेशन भनिन्छ। साथै अवेरनेश शब्द यसको ज्यादा नजिक छ। हिन्दीमा बोध शब्द ध्यानको नजीक छ। यसर्थ ध्यानको मूल अर्थ जागरुकता,अवेरनेश,होस,साक्षीभाव वा दृष्टाभावसमेत हो। पातञ्जल योग प्रदीपमा लेखिएको छ तत्र प्रत्यैकतानता ध्यानम अर्थात् जहाँ मन लगाइएको छ, त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो।
 
श्रीकृष्ण र अष्टाबक्र भन्नुहुन्छ, ‘निर्विषय चेतनाको अवस्थामा ध्यान घटित हुन्छ। गुरु गोरखनाथ वावाले हंसिबा खेलिबा धरिबा ध्यान,अहनिसि कथिबा ब्रह्म गियान। हंसै खेलै न करै मन भंग, ते निहचल सदा नाथ के संग भनी ध्यानलाई महत्व दिनुभएको छ। ध्यानको उत्पतिकर्ता भगवान शिवलाई मानिन्छ। भगवान शिवले पार्वतीलाई ध्यानका ११२ विधि वताएको मानिन्छ जुन विज्ञान भैरव तन्त्रमा संग्रहित भएको पाईन्छ। सत्गुरु ओशोले १५० भन्दा बढी ध्यान विधिको वर्णन आफ्नो प्रवचनमा गर्नु भएको छ। गौतम वुद्धले अप्पो दिपो भव अर्थात आफ्नो दियो आफै वन भन्नु भएको छ। त्यसैगरी आनापान सति अर्थात आएको गएको श्वास प्रति सजग हुन जोड दिदै विपश्यना ध्यान विधिको आविश्कार गर्नुभएको हो।सहज समाधि ध्यान अर्थात विश्राम गर्ने कला ध्यान हो।वेद, उपनिवद तथा गिता अनुसार ध्यान नै सत्य हो। ध्यानबाट नै सत्य प्राप्त गर्न सकिन्छ।
 
ओशो भन्नुहुन्छ ध्यानले अतितको स्मृति र भविश्यको कल्पनालाई मेटाईदिन्छ वा शून्य बनाउछ। एकाग्रता मात्र हुनु ध्यान होईन। विचार वा  क्रियाबाट मुक्त हुनु ध्यान हो। भित्र जाग्नु र सदा निर्विचारको दशामा रहनु ध्यान हो।निर्विचार चेतना ,शान्त र विश्रामपूर्ण बोध हो। अत जे कुरा गरिन्छ त्यो होशपूर्वक गर्नु नै ध्यान हो। ध्यान विधि हो भने समाधि उपलब्धि हो। चेतनाको विशुद्ध अवस्था ध्यान हो जहाँ कुनै विचार रहँदैन कुनै विषय रहदैन। जव कुनै विचार चल्दैन भने र कुनै कामनाले टाउको उठाउदैन भने सम्पूर्ण समस्याहरु शान्त हुन्छन र हामी पूर्ण मौनमा हुन्छौ त्यो मौन ध्यान हो।मौन र शान्त क्षणमा नै हामीले स्वयमको सत्ताको अनुभूति गर्छौ।
 
सक्रिय ध्यान के हो ?
सक्रिय ध्यानका प्रतिपादक एवं आवश्कारक सत्गुरु ओशो हुनुहुन्छ।सक्रिय ध्यान ओशोको खोज हो।यो ध्यान बिशौ शताव्दिको खोज हो। यस ध्यानलाई गतिशील ध्यान पनि भनिन्छ। अंग्रेजीमा डायनामिक मेडिटेशन भनिन्छ ।विपश्यना ध्यान वुद्धको खोज हो।विपश्यनाको अर्थ निरीक्षण गर्नु वा देख्नु हो।आफ्नो विचारलाई देख्दै देख्दै शान्त हुनु हो।चुपचाप वसी आफ्नो साक्षी हुनु, आतेजाते श्वास देख्नु हो।चुपचाप बसी आफूभित्र जे हुन्छ त्यो द्ख्नु र देख्दै देख्दै  सारा कुरा विलिन भई शून्यमा जानु हो।विपश्यना ध्यानले अहिलेको आधुनिक मान्छेलाई काम गर्न सक्दैन भनी ओशोले सक्रिय ध्यान विधिको खोज गर्नुभयो।
 
आधुनिक मान्छे वेईमान छ। अहिलेको मान्छेलाई बढीमात्रमा काम,क्रोध,लोभ,मोह,ईर्श्या र द्धेषले गाँजेको छ। मानिसको मन भित्र दमित वासना,कामना र विचारको कालो वादल मडारिरहेको छ।व्यक्तिभित्र धेरै दमित कुराहरु छन,  कुँडा,कचहरा वर्षौदेखि जम्मा भएर वसेका छन, दमित ईच्छाहरु छन।हजारौ तरहको भित्र दमित वासना र विचारलाई शुरुमा नै विपश्यना ध्यानले फ्याक्न नसक्ने हुँदा सक्रिय ध्यानको आवाश्यकता महशुस गरी सोको आविश्कार गरिएको हो।ओशो भन्नुहुन्छ विपश्यनामा पस्नु भन्दा पहिला सक्रिय ध्यान गर्नु आवाश्यक छ।सक्रिय ध्यान पछि मात्र वल्ल विपश्यना फलदायी हुन्छ। 
 
विपश्यनामा शुरुमै प्रवेश गर्दा फलदायी हुदैन।अनौठो ओशो सक्रिय ध्यान यसरी वनाईएको छकी शरीर र मनमा एकत्रित भएका तनावहरु रेचन हुन सकोस जसले सहज स्थिरता ल्याओस र ध्यानको विचाररहित भावको अनुभव होस। कुनै पनि व्यक्ति ध्यानको उचाईमा जानु छ भने सक्रिय ध्यानको प्रयोग गर्नु राम्रो हुन्छ।यो ध्यानले तीन प्रकारको गुण भएको मान्छेलाई एकै साथ काम गर्छ।कर्मयोगी अर्थात जसले शरीरलाई महत्व दिन्छ वा शरीर प्रणव छ, भक्तियोगी अर्थात भाव प्रणव वा भावुक प्रकृतिको छ, ज्ञान योगी अर्थात वुद्धि प्रणव छ यी तिनै प्रकारको व्यक्तिलाई एकसाथ काम गर्दछ।शरीर, ह्रदय र मनको श्रृङखलामा उपयोगी हुन्छ।यो विधिमा शरीरको पनि पूरा उपयोग छ, भावको पनि उपयोग छ र होसको पनि पूरा उपयोग हुन्छ।
 
सक्रिय ध्यानका चरण 
सक्रिय ध्यानका पाँच चरण छन।यो ध्यान उभिएर गरिन्छ।यो बिधिको प्रयोग विहानको समयमा गरिन्छ।यसको अवधि करिव एक घण्टाको हुन्छ।प्रत्येक चरण दश दश मिनेटको हुन्छ अर्थात तिनवटा चरण दश दश मिनेटका र अन्तिम दुई चरण पन्ध्र पन्ध्र मिनेटका हुन्छन। स्मार्ट सक्रिय ध्यानको लागि प्रत्येक चरण पाँच पाँच मिनेटमा पनि गर्न सकिन्छ।यो ध्यानमा प्रवेश गर्नु अगाडी पहिला भगवानलाई साक्षी राखी दृढ संकल्प गर्नु पर्दछ।भगवानसंग हात जोडी मैले पूराका पूरा शक्ति लगाई हरेक चरण पूर्णरुपमा गर्नेछु भनी शंकल्प गरिन्छ ।
 
पहिलोचरण महाभस्त्रिका  
महाभस्त्रिकाको चरण दश मिनेटको हुन्छ।नाकबाट  छिटो तेज गतिमा अराजकपूर्ण तरिकाले श्वास वाहिर फ्याक्नु भस्त्रिका हो।तेज गतिमा गरिने हुँदा महाभस्त्रिका भनिएको हो।यस क्रियालाई तीव्र गतिमा निरन्तर गरिन्छ।यो पहिलो चरणमा आफूलाई अलिकति पनि शिथिल छोडनु हुदैन र श्वसको गतिलाई कम हुन दिनु हुदैन।
 
दोस्रो चरण रेचन 
रेचनको चरण दश मिनेटको हुन्छ। रेचनको अर्थ सफा गर्नु, निकाल्नु , फेक्नु वा वमन गर्नु भन्ने हुन्छ।यसलाई भाव रेचक पनि भनिन्छ।यस चरणमा शरीरलाई नियन्त्रण विहिन तरिकाले पूर्णरुपमा स्वतन्त्र छोडी भित्रबाट जे सुकै आओस त्यसलाई नरोकी रुने, कराउने, चिच्चाउने, हाँस्ने, कुदने, काप्ने,नाच्ने ,हातखुट्टा चलाउने र सवै दिशातिर गतिमान हुने गरिन्छ। जे भईरहेको छ त्यसमा मनलाई नियन्त्रण र हस्तक्षेप गर्नु हुदैन। यस चरणमा जे मन लाग्छ त्यही गर्नु पर्दछ र पूरा रुपमा पागल हुनु पर्दछ ताकी भित्रका सबै दमित भावनाहरु वाहिर फ्याकिउन।
 
तेस्रो चरण हूँ हूँ हूँ 
यो चरण पनि दश मिनेटको हुन्छ।यस चरणमा जति गहिरो हूँ को ध्वनि निकाल्न सकिन्छ उति गहिरो ध्वनि निकाल्दै हूँकार गर्दै उफ्रने गरिन्छ।काँध र गर्धनलाई शिथिल छोडी आफ्ना दुवै हात माथि उठाई कुहिना शिथिल छोडदै हूँ हूँ हूँ को मन्त्र जोरले उच्चारण गरी तल माथि उफ्रने गरिन्छ।हूँ को उच्चारण जतिसक्यो त्यति गहिरो होस र त्यो आवाज नाभीबाट उत्पन्न हुनु पर्दछ।
 
चौथो चरण रोकिनु
यो चरण पन्ध्र मिनेटको हुन्छ।यस चरणमा जँहा हो त्यही र जुन अवस्थामा छ त्यही अवस्थामा रोकिनु पर्दछ।आफू कतिपनि हलचल नगर्ने र जे घटछ त्यसप्रति साक्षी भावले हेर्ने गरिन्छ। जे भईरहेको छ त्यसको साक्षी रहनु पर्छ।यस चरणमा शरीरमा उर्जा संग्रहित हुन थाल्छ।
 
 
पाँचौ चरण उत्सव 
पाँचौ चरण पनि पन्ध्र मिनेटको हुन्छ।यस चरणमा नृत्य गर्ने वा मौन रही ध्यान मुद्रामा वस्ने गरिन्छ। सङगित र नृत्यको माद्यमबाट आफ्नो अन्तसको अहोभावलाई व्यक्त गरिन्छ।
 
 
सक्रिय ध्यानको उपयोगिता 
ध्यान हाम्रो स्वयमको रुपान्तरण हो।यस ध्यानको उपयोगिता अदभूत छ।ओशोद्धारा निर्मित यस ध्यान बिधि पहिलो पटक समूहमा गर्नु पर्दछ अर्थात गुरुको सामिप्यतामा गर्नु पर्दछ र पछि एक्लै पनि गर्न सकिन्छ।गम्भीर रोग लागेका व्यक्तिलाई यो ध्यान बिधि गर्न बर्जित छ। सक्रिय ध्यानले व्यक्तिको उसको शरीरमा अक्सिजन लेवल बढाउँदछ।शरीर भित्र रहेको कार्वनडाईअक्साईड वाहिर फ्याकिन्छ र शरीरको कोशिकामा उर्जाको संचार प्रवाह हुन्छ। व्यक्तिलाई दमित भावनाबाट मुक्ति मिल्छ।मनको ग्रन्थियां खुल्छ।शरीरमा उर्जा फैलिन्छ। शरीरका हरेक रोगको लागि लाभदायक मानिन्छ र मनमा शान्ति प्राप्त हुन्छ।हरेक तनावबाट मुक्ति मिल्छ। साथै सजगता र होसमा वृद्धि भई स्वयमको रुपान्तरण गर्न सहयोग पुग्दछ ।शरीरप्रति,  विचारप्रति, भाव वा अनुभूतिप्रति होसपूर्ण हुँदै आनन्दित जीवन जिउन यस ध्यानले सहयोग पुर्याउदछ । अत हरेक व्यक्ति ध्यानको उचाईमा छिटै पुग्नु छ भने सक्रिय ध्यानबाट ध्यानको शुरु गर्नु पर्दछ।यो ध्यान बिधि लगातार एक महिना गरेर त हेर्नुस तँपाईलाई आकस्मिक रुपान्तरणको अनुभूत हुन थाल्ने छ।नेपालका हरेक ओशो ध्यान केन्द्रहरुमा यो बिधिको प्रयोग गरिन्छ ।