निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

श्रावण २५,२०७९

-आस्था न्यूज

साउन २५, २०७९ काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् ।
 
२२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । तर, हालसम्म सिफारिस समितिले काम सुरु गरेको छैन । यही बेला सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक राखेर यस्तो आग्रह गरेका हुन ।
 
सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले महाअभियोगको सिफारिस समितिको सहजीकरण बैठक राखेका हुन । सहजीकरण बैठकमा ११ सदस्यीय छानबिन समितिका ८ जना उपस्थित थिए ।
 
संघीय संसद सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति थियो । महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।
 
सहजीकरण बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले महाअभियोगबारे प्राप्त जिम्मेवारी छिट्टै सम्पन्न गर्न आग्रह गरेका हुन् ।